images
images

बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत, १०५ सांसदको समर्थन

  • ३ माघ २०७९, मंगलवार १६:१७

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएको छ ।

जम्कट्टेललाई १०५ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उहाँले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिनुभएको । ११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित भएका छन् । जमकट्टेलले प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये छ दलले उनलाई विश्वासको मत दिएको छ । पुस २५ गते मुख्यमन्त्री नियुक्त हुँदा जमकट्टेललाई नेपाली कांग्रेसले समर्थन गरेको थिएन ।

नेपाली कांग्रेस कार्यसम्पादन समितिको आज बसेको बैठकले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो । प्रदेश सभामा ३ जना मात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टी नेमकिपा ले विपक्षमा मतदान गरेको छ । अब बागमती प्रदेश सभामा नेमकिपा मात्र प्रतिपक्षी दलको रुपमा रहेको छ । मुख्यमन्त्री जमकट्टेलले कांग्रेस सहित छ दलको विश्वास जुटाउन सफल भएका छन् । सरकारलाई विश्वासको मत दिएपनि गुण र दोषको आधारमा शसक्त प्रतिपक्षीको भूमिकामा रहने नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बताए ।