काठमाडौं । संबिधान दिवसको अवसरमा कैद सँजाय मिनाहा भएर जेलवाट छुटेका दोलखाको शैलुङका एक पुरुष पुनः चोरीका घटनामा पक्राउ परेका छन् ।
विभिन्न कसुरमा १२ वर्ष कैद सँजाय तोकिएका शैलुङ स्थायी घर भई भक्तपुरको निकोसेरा बस्ने रघुनाथ बस्नेत दर्जन बढी चोरीका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । ललितपुरका बिभिन्न ठाउँमा चोरी गरेको आरोप लागेका बस्नेतलाई चोरीका सामानसहित प्रहरीले आज सार्वजनिक गरेको हो । गत संविधान दिवसको अवसरमा छुटेका बस्नेत पुनः चोरीमा लागेका हुन् । उनले चोरीका घटनामा समेत फरक कला प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
बस्नेतलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो । ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालका अनुसार बस्नेत ललितपुरका बिभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न छन् । सानेपाका तोपवहादुर थापाको घरमा बस्ने जर्मन नागरिकको कोठावाट तीन वटा ल्यापटप, क्यामेरा र ४७ हजार नगद चोरी गरेको बस्नेतलाई आरोप छ । प्रहरीका अनुसार भनिमण्डलस्थित उषा श्रेष्ठको घरमा बस्ने विदेशी नागरिकको पनि ३० हजार नगद र कपडा चोरी भएको थियो ।
यस्तै, मंसिर १७ गते ललितपुरको सानेपामा डेरा गरी बस्ने सुप्रिया राईको कोठावाट २० तोला सुनका गहना र ६३ तोला चाँदी चोरी भएको थियो । ललितपुरकै झम्सिखेल बस्ने ठाकुरनाथ ढकालको घरमा पनि पुस १ गते चोरी गरेको बस्नेतमाथि आरोप छ । ढकालको घरवाट २७ तोला सुनका गहना, १५ तोला चाँदी, ३० हजार नगद र ८२५ अमेरिकी डलर समेत चोरी भएको थियो ।
प्रहरीका अनुसार बस्नेतले चोरी गर्नु अघि ठाउँको रेकी गर्ने र चोरी गर्न जाँदा छुट्टै कपडा बोकेर जाने गर्दथे । चोरी गरि सकेपछि उनले सुरुमा लगाएको कपडा फेरेर अर्को कपडा लगाएर बाहिर निस्किने गर्दथे । उनले चोरी गर्न जाँदा साइकलको प्रयोग गर्ने र चोरी गरिसके पछि वीच बाटोमै छाडेर हिड्ने गरेको प्रहरीको भनाई छ ।
चोरी मुद्धामा ९ पटक पक्राउ परिसकेका बस्नेतबिरुद्ध पटक–पटक गरी १२ पटक मुद्धा चलिसकेको छ भने बिभिन्न कसुरमा उनलाई १२ वर्ष कैद सँजाय समेत तोकिएको थियो । पछिल्लो पटक दोलखामा २०७७ सालमा भएको चोरीको घटनामा बस्नेत उपर मुद्धा चलेको थियो ।











