
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित ६ विपक्षी दलले तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न माग गरेका छन् ।
विपक्षी दलले आज बसेको संयुक्त बैठकपछि वक्तव्य जारी गर्दै सरकारले संसद अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशन माग गर्ने चेतावनी दिएका हुन् । तत्काल संसदको हिउँदे अधिवेशन आह्वान नगरे कडा आन्दोलन गर्ने विपक्षी दलको चेतावनी छ ।
बैठकपछि जारी संयुक्त विज्ञप्तीमा वर्तमान गठबन्धन सरकार गठन भएको ६ महिना वितिसक्दा पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको, महंगी र भ्रष्टाचारलाई बढवा दिएको, अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित राख्न नसकेको र संसद छलेर अध्यादेशमार्फत जनतामा निरंकुश शासन लाद्न खोजेको आरोप लगाईएको छ ।
भू माफीयालाई फाईदा दिन अध्यादेश ल्याएको आरोप
विपक्षी दलहरुले सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै कडा आपत्ति जनाएका छन् । संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलका क्रममा रहेका विद्येयकहरु फिर्ता नलिई सोही विषयमा गम्भीर प्रकृतिका कानुनहरु अध्यादेशमार्फत जारी गर्ने सरकारको कामप्रति गम्भीर ध्यानाकर्षण भएको विपक्षी दलले जनाएका हुन् । विपक्षी दलले सरकारले भूमाफीयालाई फाईदा दिन भूमी अध्यादेश ल्याएको आरोप लगाएको छ ।
पत्रकार सम्मेलन मार्फत विपक्ष दलले मुलुकको अर्थतन्त्र झन् समस्या उन्मुख रहेको तर्क गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचारका फाइल समेत बन्द हुन थालेको विपक्षी दलको आरोप छ । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुलले सत्ता गठवन्धन दई दलीय तानाशाही बन्न खोजेको आरोप पनि लगाएका छन् ।
सरकारले नैतिक आधार गुमाईसक्योः अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाईसकेको आरोप लगाउनुभएको छ । विपक्षी दलहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाउनुभएको हो । नैतिकताको आधारमा सरकारले राजीनामा दिनु उचित हुने उहाँको भनाई छ ।
विपक्षी दलहरु देशको स्थितिप्रति निकै चिन्तित भएको भन्दै अध्यक्ष प्रचण्डले सरकारले आफुहरुको कुरालाई नजरअन्दाज गरे विशेष अधिवेशन मात्रै नभई सडकमै ओर्लिने चेतावनी दिनुभयो ।