images
images

स्थानीय तहका उम्मेदवारले जरिवाना तिर्नु नपर्ने, सबै उम्मेदवारलाई माफी मिनाहा

  • ५ फाल्गुन २०७९, शुक्रबार २१:५८

काठमाडौं । अब स्थानीय तहका उम्मेदवारले जरिवाना तिर्नु नपर्ने भएको छ ।

निर्वाचन आयोगको निर्णयअनुसार जरिबानामा परेका स्थानीय तहका उम्मेदवारले अब जरिबाना तिर्नु नपर्ने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सबै उम्मेदवारको जरिबाना माफी मिनाहा गर्ने निर्णय गर्नुभएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिले जरिबानामा माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएर जरिबानामा परेका जनप्रतिनिधिहरूले गत माघ २२ गते गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई मिनाहाका लागि अनुरोधपत्र पठाएका थिए । उनीहरुको आग्रहअनुसार मन्त्रिपरिषदबाटै सिफारिस भएर राष्ट्रपतिबाट यो निर्णय भएको हो ।

निर्वाचनमा उम्मेदवार भई कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख २३ हजार ६ सय ५० जना उम्मेदवारलाई आयोगले कारबाही स्वरूप १ लाख ५० हजार देखि ७ लाख ५० हजारसम्म जरिबाना गर्ने निर्णय गरेको थियो ।