
जिरी(दोलखा) । तेस्रो बृहत दोलखा महोत्सव २०८१ भोलीदेखि सुरु हुँदैछ ।
दोलखा उद्योग वाणिज्य संघको आयोजनामा भोलीदेखि १८ गतेसम्म तेस्रो बृहत दोलखा महोत्सव हुने भएको हो । महोत्सवको एक लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने कार्यक्रम छ । मध्यान्ह साँढे १२ बजे हुने उद्घाटन समारोहमा जिल्लाका विभिन्न जातजाति, भाषाभाषी र समुदायहरुका कला–संस्कृति समेटिएको झाँकी प्रदर्शनीसहितको र्याली निकालिने आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय उत्पादन तथा परिकारहरुको विक्रीवितरण तथा प्रवर्घन गर्नेगरी १४० वटा स्टल राखिएको छ । महोत्सवलाई लक्षित गरी कालिञ्चोक केबलकार र जिल्लास्थित होटलहरुमा खान बस्नको लागि छुटको व्यवस्था गरिएको छ ।
यो अवधिमा कालिञ्चोक केबलकार चढ्दा १० प्रतिशत, जिल्ला सदरमुकामस्थित होटलहरुमा २५ प्रतिशत, रोल्वालिङ यातायात गाडीमा १५ प्रतिशत र इलेक्ट्रिक (इभी) र ट्याम्पु सेवामा १०÷१० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
भोलीदेखि १३ दिन अर्थात महोत्सव सम्पन्न हुने दिनसम्म तोकिएको छुटमा सेवा लिन पाइने दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । दोलखामा बढी भन्दा बढी पर्यटक भित्र्याउन र महोत्सवलाई सफल पार्नको लागि विभिन्न क्षेत्रमा छुट दिने सहमति भएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
महोत्सव स्थलबाट नजिकका गन्तव्यमा घोडामार्फत जान पाउने सुविधा समेत गरिएकोे छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।
फाइल तस्विरः