images
images

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले जनही चार लाख पाउने

  • ३ चैत्र २०७९, शुक्रबार १३:३०

काठमाडौं । विश्वकप छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले जनही चार लाख रुपैँया पाउने भएका छन् ।

संघीय सरकारले नेपाली विजेता टिमका खेलाडीलाई जनही तीन लाख र बागमती प्रदेश सरकारले एक लाख दिने निर्णय गरेको हो । प्रधानमन्त्री एवं युवा तथा खेलकुदमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै जनही तीन लाख दिने घोषणा गर्नुभएको हो । यस्तै बागमती प्रदेश सरकारले पनि विश्वकप छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट आज एक लाख दिने घोषणा गर्नुभएको हो । खेलाडीको सम्मान र हौसलाका लागि प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने घोषणा गरेको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । उहाँले बागमती प्रदेशका खेलाडिहरु समेत सम्मिलित सो टिमलाई जितको बधाई दिँदै थप प्रगती र सफलताको लागि शुभकामना दिनुभयो ।

हिजो भएको विश्वकप लिग टुको अन्तिम खेलमा युएईलाई ९ रनले पराजित गर्दै नेपाली टोली विश्वकप क्वालिफायरमा प्रवेश गरेको हो । अब नेपाल जिम्बाबेमा हुने विश्वकप छनोट खेल खेल्नेछ । १० टिम सहभागी टोलीमा दुई समूहका शीर्ष टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।