images
images

रामेछापका दुई सामुदायिक वनको डढेलो नियन्त्रणमा आउन सकेन, आगो लगाउने दाजुभाई पक्राउ

रामेछाप । रामेछाप प्रहरीले सामुदायिक वनमा आगजनि गरेको आरोपमा दाजु भाईलाई पक्राउ गरेको छ ।

जिल्लाको दोरम्वा शैलुङ गाउँपालिका–३ टोकरपुरका ५० वर्षीय पदमबहादुर विक र उनका भाई ४५ वर्षीय चन्द्र विकलाई प्रहरीले पक्राउ गरेको हो । सामुदायिक वनमा आगो लगाई फरार रहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) कौशल न्यौपानेले जानकारी दिनुभयो ।

रामेछापको दोरम्वा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित छहरेछाप डाँडा सामुदायिक वन र लालिगुँरास सामुदायिक वनमा चैत १ गतेदेखि आगलागि सुरु भएको थियो । ती सामुदायिक वनमा गत शुक्रबार करिव ११ बजेको समयमा विक दाजुभाईले आगो लगाएको आरोप छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय रामेछापमा पठाईएको ईन्स्पेक्टर न्यौपानेले जानकारी दिनुभयो ।

सो सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । वनको भिरमा आगलागि भएकाले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ । चार दिन अघि देखि सुरु भएको आगो वस्तीमा पस्ने जोखिम नभएपनि अन्य सामुदायिक वनमा फैलिने जोखिम भने बढेको छ ।