
दोलखा । दोलखा सदरमुकाम चरिकोटमा दोलखा स्ट्रिट फुड फेस्टिबल २०८२ हुने भएको छ ।
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा ३ दिने दोलखा स्ट्रिट फुड फेस्टिबल २०८२ हुने भएको हो । दोलखा चेम्बर अफ कमर्स र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा स्ट्रिट फुड फेस्टिबल हुन लागेको हो । पर्यटकीय जिल्लाको रुपमा पहिचान गराउने उद्धेश्यले जिल्लामा रहेका लोपोन्मुख जातजातीका रैथाने खानाको पहिचान तथा प्रबद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार स्ट्रिट फुड फेस्टिबलले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा खानाको प्रतियोगिता, प्रदर्शनी र स्वाद परीक्षण, दर्शकलाई स्थानीय खानाको विविधता र स्वादको अनुभव गराउने दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता, खानाको प्रतियोगिता, लाईभ दोहोरी र परम्परागत झाँकी प्रदर्शनी गरिनेछ । यसका साथै कार्यक्रममा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रत्यक्ष प्रस्तुति पनि रहनेछ ।