images
images

अलमलमा गठबन्धनःदोलखा, रामेछाप र सिन्धुपाल्चोकमा उम्मेदवार टुङगिएन

दोलखा । स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार मनोनयन गर्न एक साता मात्रै बाँकी रहँदा गठबन्धन दलहरुबीच सहमतिको ‘मोडालिटी’ अझै तयार हुन सकेको छैन ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने मिति यही बैशाख ११ गते भएपनि अझै दोलखा सहित देशको अधिकांश जिल्लामा सहमति जुटिनसकेको हो । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले जिल्लामा गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेपनि तालमेलबारे ठोस प्रगति हुन सकेको छैन । दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा पनि गठबनधनको निचोर्ड आउन सकेको छैन । गठबन्धन दल छलफललाई तीबता दिई मिलेर उम्मेदवार घोषणा गरी धमाधम निर्वाचनको तयारीमा लाग्नुपर्नेमा मनोनयको ७ दिन मात्रै बाँकी रहँदासम्म अझै उम्मेदवार र भागवन्डा टुङग्याउने रस्साकसीमा छन् ।

दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुली लगायतका जिल्लामा पनि यस्तो समस्या सर्ववित्तितै देखिएको छ । दोलखामा ६ दिनदेखि ठप्प भएको गठबन्धनको छलफल हिजोबाट पुनः सुचारु भएको छ । गठबन्धनगरी स्थानीय निर्वाचनमा जाने केन्द्रको निर्णयसँगै पटक–पटक छलफलमा जुटेको गठबन्धन दलले केही निचोर्ड ननिकाली चैत २६ गतेदेखि छलफल रोकेका थिए । तर, हिजोबाट गठबन्धन छलफलमा होमिएपनि कुन–कुन स्थानीय तहमा कसरी भागबण्डा गरेर जाने वा कुन–कुन स्थानीय तहमा गठबन्धन गर्ने/कुनमा नगर्ने भन्नेबारे अझै निर्णय आउन बाँकी रहेको छ । आज पनि दोलखामा गठबन्धनको छलफल जारी छ । सम्भवतःआजको छलफलले केही ठोस निर्णय लिने अनुमान छ । हाल जिल्लामा गठबन्धन गर्ने मध्यैकै एक ठूला दल नेकपा माओवादी केन्द्रले धमाधम आफ्नो पालीका अध्ययक्षका उम्मेदवार टुङग्याउँदै लगेको छ । अन्य गठबन्धनका ३ पार्टीले भने हालसम्म कुनै पनि पालिकामा उम्मेदवार घोषणा गरेका छैनन् । दोलखामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको थियो ।

रामेछाप र सिन्धुपाल्चोकमा पनि गठबन्धनलाई सकस

रामेछापमा पनि नेपाली कांग्रेसको शर्तले गर्दा गठबन्धनको बैठक रोकिँदै आएको छ । रामेछापमा सत्तारुढ गठबन्धनबीच मिलेर स्थानीय तहमा लड्ने निर्णय भएपनि ठोस निर्णय आइसकेको छैन । नेपाली कांग्रेस रामेछापले गठबन्धन सँगको बैठक रोकेर हिजो तालमेलको विषयमा निर्णय गर्नका लागि जिल्लाको ८ वटै स्थानीय तहका पदाधिकारी र वडा ईकाई सभापतिको सुझाव संकलन गरेको थियो । रामेछापमा केही दिनदेखि रोकेको गठबन्धनको बैठक आज साँझ बस्दैछ । गठबन्धनमा आवद्ध पाँच दलबीच आज सिट बाँडफाँडको विषयमा छलफल हुने नेपाली कांग्रेस रामेछापमा सभापति पूर्ण बहादुर तामाङ कान्छारामले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा चुनावी तालमेल गर्ने/नगर्ने विषयमा निर्णय हुनेछ ।

उता, सिन्धुपाल्चोकमा गठबन्धन दलहरुलाई उम्मेदवार छान्न सकस परेको छ । सिन्धुपाल्चोकमा पनि गठबन्धन दलहरुबीच सहमतिको ‘मोडालिटी’ अझै तयार हुन सकेको छैन । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला स्तरीय नेताहरू बीच चुनावी गठबन्धनलाई बलियो बनाएर लैजाने विषयमा बैठक भइरहे पनि तिनै दलका शीर्ष तहका नेताहरुबीच भने बैठक बस्न सकेको छैन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र माओवादी केन्द्रीय सदस्य माधव सापकोटा सहितका नेताहरू औपचारिक रूपमा एक पटक मात्रै बैठकमा बसेका छन् । कांग्रेस, माओवादी र एकिकृत समाजवादीका नेताहरु दिनहुजसो छलफलमा जुटेपनि ठोस निर्णय र सहमति हुन सकेको छैन ।

शुक्रवार तीनै पार्टीका जिल्ला अध्यक्षसहित बैठक बसेर गठबन्धन गरेर स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा निर्णय भएपनि शीर्ष नेताहरुबीच सहमति नहुँदासम्म कार्यान्वयन हुनमा समस्या हुने कांग्रेसका नेताहरुले बताएका छन् । सिन्धुपाल्चोकका १२ स्थानीय तहमा गठबन्धनका मुख्य दुई दल कांग्रेस र माओवादीले बराबरी हिस्सा दाबी गरिरहेका छन् । नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको आधा पालिकामा दाबी गरेको छ । २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोकको १२ पालिकामध्य एमालेले ७, कांग्रेसले तीन गाउँपालिका र माओवादी केन्द्रले १ नगरपालिकासहित २ पालिका जितेको थियो ।

सिन्धुलीको सुनकोशी गाउँपालिकामा गठबन्धन नहुने

सिन्धुलीमा पनि गठबन्धन प्रकृया निष्कर्षमा पुगिसकेको छैन । नेपाली काग्रेसले सिन्धुलीको सुनकोशी गाउँपालिकामा गठबन्धन नगर्ने निर्णय गरिसकेको छ । सुनकोसी गाउँपालिकामा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने निर्णयसहित कांग्रेसले जिल्ला र प्रदेशस्तरीय गठबन्धन संयन्त्रलाई औपचारिक पत्र पठाएको हो । हालको अवस्थालाई हेर्दा जिल्लाको तल्लो तहसम्म गठबन्धन गरेर आगामी वैशाख ३० मा हुने निर्वाचनमा जाने निर्णय गरेका नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चा बीचको तालमेलले स्पष्ट गति लिन सकेको छैन ।