images
images

अपर तामाकोशीको अध्यक्षमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको अध्यक्ष बनेका छन् ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालक पदमा हेरफेर गर्दै शाक्यलाई अध्यक्ष नियुक्त गरिएको हो । कम्पनी सचिव सुरेशराज खकुरेलका अनुसार कम्पनीको गत चैत २९ गते बसेको २९६ औँ बैठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको होे । शाक्यलाई यसअघि चैत २१ गतेको प्राधिकरणको पत्रानुसार प्रतिनिधिको रुपमा सञ्चालकमा मनोनयन गरिएको थियो ।

यसअघि प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपरको अध्यक्षको जिम्मेवारी थियोे । सरकारले कुलमान हटाएर प्राधिकरणमा शाक्यलाई नियुक्त गरेपछि शाक्यनै अपर तामाकोशीको अध्यक्ष बनेका हुन् ।

नेपाल विद्युत प्राधिकरणको सहायक केन्द्रको रुपमा रहेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड दोलखा जिल्लाबासीको भरोसाको केन्द्रको रुपमा रहेको छ । विगत केही वर्षदेखि विद्युत उत्पादन गरिरहेको अपरले अझै घाटा व्यहोरिरहेको छ । अपर तामाकोशीको बजार मूल्य हाल प्रतिकित्ता २०० मा सिमित छ ।