भक्तपुर । भक्तपुरका सवै विद्यालयमा वैशाख ६ गतेदेखि पठनपाठन सञ्चालन हुने भएको छ भने आईतबार विद्यालयमा बिदा नहुने भएको छ ।
नगर कार्यपालिकाको वैशाख ३ गते बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गतका सम्पूर्ण विद्यालय पूर्वनिर्धारित शैक्षिक क्यालेन्डर अनुसार सञ्चालन गर्ने निर्णय गरेको हो ।
निर्देशन विपरीत
योसँगै भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालय संघीय सरकारकाे निर्देशन विपरीत पूर्ववत् रूपमै सञ्चालनमा हुने भएका हुन् । नगर प्रमुख सुनिल प्रजापतिले शैक्षिक संघसंस्थामा संघीय सरकारले अव्यवहारिक निर्णय गरेपछि कार्यान्वयन गर्न नसकिएकाे बताएका छन् । वर्षमा थप ५२ दिन बिदा दिएमा शैक्षिक काेर्स पूरा नहुने उनको भनाइ छ ।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले चैत २६ गतेको पत्रमार्फत नेपाल सरकार मन्त्रीपरिषद्को चैत २२ गतेको निर्णयअनुसार २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने तथा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको थियो ।
शनिबार मात्रै बिदा
तर भक्तपुर नगरभित्रका विद्यालयहरुले दुई दिन बिदा दिँदा पठनपाठनका दिन घट्ने र पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको क्रेडिट आवर पूरा गर्न कठिनाइ हुने निष्कर्ष निकाल्दै आइतबार पनि विद्यालय सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।
सोही अनुसार नगर कार्यपालिकाको बैठकले शनिबार मात्रै बिदा दिने र शैक्षिक संस्था बैशाख ६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।










