दोलखा । दोलखाका दुई वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ भने ७ वटा स्थानीय तहमा अझै मतगणना जारी छ ।
मतपरिणाम सार्वजनिक भएको जिरी नगरपालिका र मेलुङ गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अन्य ७ वटा पालिकाको मतगणना जारी छ । मतगणना भएकामध्ये ६ वटा पालिकामा गठबन्धनका साझा उम्मेदवारले अग्रता लिइरहेका छन । यो समाचार तयार पार्दासम्म भीमेश्वर नगरपालिका, कालिञ्चोक, विगु, गौरीशंकर, शैलुङ र तामाकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् ।
भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका नेपाली कांग्रेसका ईश्वरनारायण मानन्धरले ३६ सय ५१ मत प्राप्त गरेका छन् । नगरप्रमुखका उम्मेदवार हरिवंश चौंलागाईले २७ सय २३ मत प्राप्त गरेका हुन् । नगरउपप्रमुखतर्फ नेकपा एकिकृत समाजवादीकी संगीता तमाङले २८ सय ९४ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार कमला बस्नेतले २६ सय ९४ मत पाएकी छिन् । उनीहरुबीच सुरुवात देखि नै कडा टक्कर परिरहेको छ ।
कालिञ्चोक गाउँपालिका
कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद शिवाकोटीले ४ हजार २ सय ४४ मत प्राप्त गर्दै अग्रस्थान कायम राखेका छन् भने नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गणेश शिवाकोटीले ३ हजार ७७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ११ सय ६७ देखिएको छ । यसैगरी उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकीले ४ हजार ३ सय ७२ मत पाएका छन् भने एमालेकी उम्मेदवार कविता थामीले ३ हजार ३ सय १९ मत पाएकी छिन् । उनीहरुबीच १ हजार ५३ मतको अन्तर छ । कालिञ्चोक गाउँपालिकाको ९ वडामध्ये ७ वटा वडाको मतपरिणाम आइसकेको छ ।
गौरीशंकर गाउँपालिका
गौरीशंकर गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका विश्वास कार्कीले अग्रता बढाउँदै लगेका छन् । एमालेका उम्मेदवार जंग बहादुर गुरुङलाई पछि पार्दै कार्कीले आफ्नो अग्रता बढाउँदै लगेका हुन् । हालसम्म प्राप्त नतिजा अनुसार कार्कीले २९ सय ८८ मत प्राप्त गरेका छन् भने गुरुङले २४ सय ९१ मत प्राप्त गरेका छन् । कार्की गुरुङ भन्दा ४ सय ९७ मतान्तरले अघि देखिएका छन् । उनीहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । गौरीशंकरका ९ वटा वडामध्ये हालसम्म ५ वटा वडाको मतरिणमा सार्वजनिक भइसकेको छ । त्यसमध्ये माओवादी केन्द्रले तीन वटा वडामा विजयी हात पारेको छ भने एमाले र कांग्रेसले एक–एक वडा जितेका छन् । हाल वडा नम्बर ६ को मतगणना भइरहेको छ ।
वैतेश्वर गाउँपालिका
वैतेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार छवि लामालाई माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण खड्का पछ्याइरहेका छन् । लामाले २८ सय ३ मत प्राप्त गरेका छन् भने खड्काले २७ सय ६८ मत प्राप्त गरेका छन् । गाउँपालिकाको उपाध्यक्षतर्फ नेपाली कांग्रेसकी उम्मेदवार कल्पना उप्रेतिले २८४६ र नेकपा एकिकृत समाजवादीका उम्मेदवार कल्याण दहालले २६ सय ७६ तथा नेकपा एमालेका उम्मेदवार छविलाल तमाङले १६०१ मत प्राप्त गरेका छन् ।
शैलुङ गाउँपालिका
शैलुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार रिमालबावु श्रेष्ठले २९ सय ३० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार धनबहादुर तमाङले २७ सय ३३ मत प्राप्त गरेका छन् । उपाध्यक्षतर्फ नेकपा एमालेकी उम्मेदवार पार्वती कार्की अग्रस्थानमा आएकी छिन् । उनले २७ सय ५३ मत पाएकी छिन् भने नेपाली कांग्रेसका उम्मेदवार दावा दोर्जे लामाले २५ सय ७१ मत पाएका छन् ।
तामाकोशी गाउँपालिका
तामाकोशी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका प्रोणप्रताव केसीले ४ हजार १ सय ८० प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार अभिषेक सुवेदीले १८ सय ५१ मत प्राप्त गरेका छन् । उपाध्यक्षतर्फ नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सुवेदीले ३२ सय १ मत प्राप्त गर्दा नेकपा एमालेकी अम्बिका पोखरेलले १८ सय ५७ मत पाएकी छिन् ।
विगु गाउँपालिका
विगु गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार संजिव ओली २ सय ४२ मतान्तरले एमालेका उम्मेदवार भन्दा अघि देखिएका छन् । ओलीले १४ सय ८० मत प्राप्त गर्दा एमालेका अचुतम केसीले १२ सय ३८ मत पाएका छन् । उपाध्यक्षतर्फ कांग्रेसका आङनिमा शेर्पाले १४ सय प्राप्त गरेका छन् हने एमालेकी देविका थामीले १ हजार २८ मत पाएकी छिन् । उनीहरुबीच ३ सय ७२ को मतान्तर छ ।