images
images

दोलखाका ४१ हजार नागरिकले अझै लगाएका छैनन् कोरोना विरुद्धको बुस्टर मात्रा खोप

  • ३ जेष्ठ २०८०, बुधबार १८:०९

दोलखा । दोलखामा अझै ४१ हजार नागरिकले कोरोना विरुद्धको बुस्टर मात्रा खोप लगाएका छैनन् ।

स्वास्थ्य कार्यालय दोलखाका अनुसार जिल्लाका ४१ हजार ७ सय ५२ जना नागरिकले बुस्टर डोज नलगाएका हुन् । १८ वर्ष माथिका सवैभन्दा बढी २८ हजार ५ सय ७८ जना, १२ देखि १७ वर्षसम्म उमेर समुहका ६ हजार ९ सय ६९ जना र ५ वर्षदेखि १२ वर्षमुनिका ६ हजार २ सय ५ जना बालबालिकाले कोरोना विरुद्धको बुस्टर मात्रा खोप लगाएका छैनन् । १८ वर्षमाथिका ९७ हजार ७ सय ७८ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएकोमा ६९ हजार २ सय जनाले मात्रै बुस्टर डोज खोप लगाएका छन् ।

यस्तै १२ देखि १७ वर्षसम्मका कुल १८ हजार ८ सय ६५ जनामध्ये ११ हजार ८ सय ९६ जनाले बुस्टर मात्रा लगाएका छन् भने ५ वर्षदेखि १२ वर्षभन्दा मुनिका २२ हजार २ सय ४९ जनामध्ये १६ हजार ४४ जनाले तेस्रो मात्रा खोप लगाएका छन् । यो तथ्यांकलाई हेर्दा दोलखामा बुस्टर मात्रा खोप नलगाउनेको संख्या धेरै देखिएको छ । विशेषगरी लामो समयदेखि कोरोना विरुद्धको खोप रोकिएको तथा व्यक्ति स्वयम्को लापरवार्हीका कारण बुस्टर मात्रा खोप लगाउनेको संख्या कम देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनालले जानकारी दिनुभयो ।

दोलखामा २०७६ साल माघ १४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । खोप अभियान सुरु भएको तीन वर्ष पुरा भइसकेपनि जिल्लाका ४१ हजार बढी नागरिकहरुले बुस्टर मात्रा खोप नलगाएका हुन् ।