
काठमाडौँ । ६ किलो सुनसहित पक्राउ परेका चिनिया नागरिक ६० किलो सुन तस्करी प्रकरणमा पनि संलग्न रहेको खुलासा भएको छ ।
६ किलो सुन र ४८ लाख नगदसहित काठमाडौँबाट पक्राउ परेका ३७ वर्षीय चीनिया नागरिक शेरब ग्याल्बो यसअघिको ६० किलो सुन तस्करीमा पनि संलग्न रहेको खुलासा भएको हो । उनी ६० किलो सुन तस्करी प्रकरणमा खोजी सुचीमा रहेका व्यक्ति भएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले जनाएको छ । उनी क्रिप्टो कारोबारी पनि रहेको खुलेको छ । सुनको भुक्तानी क्रिप्टोमार्फत भएपछि अनुसन्धानका क्रममा ती चिनीया नागरिक काठमाडौँको बौद्धबाट पक्राउ परेका हुन् । उनको साथबाट ६ किलो सुन र ४८ लाख नेपाली रुपैयाँ बरामद गरिएको छ ।
काठमाडौँ महानगरपालिका ६ बौद्ध, तीनचुलीमा डेरा गरि बस्दै आएका उनको कोठामा खानतलासी गर्ने क्रममा सोनाम गुरुङको नाममा रहेको नेपाली नागरिकताको प्रमाणपत्र समेत बरामद गरिएको छ । सो नागरिकता जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी गरिएको देखिएको छ ।
सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा पनि २ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भईरहेको सिआईबीले जनाएको छ ।