images
images

सडक बालबालिकाको मिर्गौला बेचबिखनमा संलग्न भएको आरोपमा रामेछापका एकसहित ५ जना पक्राउ

  • १ श्रावण २०७९, आईतवार १४:२७

काठमाडौं । सडक बालबालिकालाई प्रलोभनमा पारेर भारतमा लगी मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका एकसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापका धनवहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र साही र बिमलवहादुर साही तथा झापाका आशिष तामाङ रहेका छन् । शरीरमा रहेका दुई वटा मध्ये एउटा मिर्गौला बिक्रि गर्दा केही फरक नपर्ने र ५ लाखसम्म आम्दानी हुने प्रलोभन देखाएर सडक बालबालिकालाई भारत लैजाने तयारी गरिरहेको सूचनाको आधारमा नेपाल प्रहरीको मावन बेचबिखन अनुषन्धान व्यूरो बबरमहलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सो समूहले काठमाडौंका सडकपेटीमा बालबालिकासँग चिनजान गरी मिर्गौला बिक्रिकालागि प्रलोभन देखाउने, मिर्गौला खरिद गर्ने व्यक्तिको खोजी गर्ने र काठमाडौंका पोलिक्लििनकमा मिर्गौला दाताले गर्नु पर्ने रगत जाँच गराई भारतको कोलकत्ता लैजाने गरेको प्रहरी अनुषन्धानवाट खुलेको छ ।

व्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक दानवहादुर मल्लले केही बालबालिकालाई मिर्गौला बेच्न सहमत गराई होटलमा राखेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बालबालिकाकै सूचनाको आधारमा मिर्गौला बिक्रि गर्ने गिरोहसम्म प्रहरी पुग्न सफल भएको थियो । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ वमोजिम कारवाही हुने प्रहरीले जनाएको छ ।