images
images

२५ हजार बढी पारिश्रमिक बैँकमार्फत दिनु पर्ने, व्यापारको रकम व्यक्तिको खातामा हाल्न नपाउने

  • २ श्रावण २०८१, बुधबार ०६:५८

काठमाडौं । चालु वर्षदेखि २५ हजारभन्दा बढीको पारिश्रमिक बैकमार्फत भुक्तानी गर्नुपर्ने भएको छ ।

सरकारले मूल्य अभिवृद्धि नियमावलीमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । जसअनुसार अब कर्मचारी र श्रमिकलाई मासिक २५ हजारभन्दा बढीको पारिश्रमिक रकम नगद भुक्तानी गर्न पाइने छैन । यस्तो पारिश्रमिक रकम बैँकबाट मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षबाट कर प्रशासनमा केही नयाँ व्यवस्थाहरु लागु गरेको हो । जसअनुसार अब व्यावसायिक कारोबार गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्न पाइने छैन । आर्थिक ऐन २०८१ ले गरेको व्यवस्था अनुसार आन्तरिक राजस्व विभागले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न सूचना जारी गरेको छ ।