images
images

दोलखा प्रहरीद्धारा खैरो हिरोईन र लागु औषधसहित ७ जना पक्राउ

दोलखा । दोलखा प्रहरीले ब्राउन सुगर (खैरो हिरोईन) र लागु औषधसहित ७ जनालाई पक्राउ गरेको छ ।

दोलखा प्रहरीले एक सातामा ३ वटा अप्रेशन गरी ब्राउन सुगर र लागु औषधसहित ७ जनालाई पक्रा गरेको हो । पक्राउ पर्नेमा लागु औषध ओसारपसारमा संलग्नदेखि यसको विक्रि वितरणमा संलग्नहरु रहेका छन् । प्रहरीले असार २५ गते महोत्तरीको बर्दिबासवाट चरिकोटतर्फ आउँदै गरेको यात्रुवाहक बसमा ब्राउन सुगर आउँदै गरेको सूचनाको आधारमा किराँतिछापमा बसको चेकजाँच गर्दा ब्राउन सुगर जस्तोदेखिने १० दशमलव ६६ ग्राम पदार्थसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा जिल्ला विगु गाउँपालिका–३ का २६ वर्षीय विजय आचार्य र भीमेश्वर नगरपालिका–४ का २९ वर्षीय मधुसुदन चौंलागाई रहेका छन् । आचार्यको साथवाट ६ दशमलव ०४ ग्राम र चौंलागाईको साथवाट ४ दशमलव ६२ ग्राम ब्राउन सुगर बरामद भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक सत्रुधन कुमार महतोले जानकारी दिनुभयो ।

बर्दिवासवाट चरिकोट आउँदै गरेको बसवाट ब्राउन सुगरसहित दोलखाका दुई युवक पक्राउ परेका छन् भने सदरमुकाम चरिकोटवाट ५ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुको कोठावाट ठूलो परिमाणमा लागु औषधका क्याप्सुलहरु समेत बरामद भएको छ । पक्राउ पर्नेमा १९ वर्षदेखि २९ वर्ष उमेर समुहका युवाहरु छन् । ती मध्ये केही लागु औषध प्रयोगकर्ता हुन् भने केही विक्रि वितरणमा संलग्न छन् ।

यस्तै, प्रहरीले सदरमुकाम चरिकोटवाट लागु औषधका क्याप्सुलसहित ४ जनालाई पक्राउ गरेको छ । गौरीशंकर गाउँपालिका–९ घर भई चरिकोटमा डेरा गरी बस्ने २२ वर्षीय बादल गुरुङको कोठावाट लागु औषध दुव्र्यसनीले प्रयोग गर्ने TROHAM-50 लेखिएको ६२ पत्ता अर्थात ६२० क्याप्सुल र कालिञ्चोक गाउँपालिका–६ स्थायी घर भई चरिकोट बस्दै आएका १९ वर्षीय सुजन पाण्डेको कोठावाट ६० क्याप्सुल लागू औषध पनि बरामद भएको छ । उनीहरु दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको बयानको आधारवाट लागु औषध विक्रि वितरणमा संलग्न भीमेश्वर नगरपालिका–६ का २४ वर्षीय सोनाम तामाङ र भीमेश्वर नगरपालिका–८ घर भई चरिकोट बस्दै आएका २३ वर्षीय सागर तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । असार १८गते पक्राउ परेका चारै जनालाई अदालतवाट म्याद थप गरी अनुषन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी मकवानपुरको लामासुरे गाउँपालिका–९ घर भएका २० वर्षीय कैलाश थापा पनि लागु औषधसहित पक्राउ परेका छन् । उनलाई असार १९ गते दोलखा प्रहरीले पक्राउ गरेको हो । थापाका साथवाट पनि बिभिन्न लागु औषधका क्याप्सुलहरु बरामद भएको प्रहरीले जनाएको छ ।

दोलखाका प्रहरी प्रमुख, डिएसपी युवराज खड्काले जिल्लामा लागु औषध दुव्र्यसनीको संख्या बढेको गुनासोपछि प्रहरीले छापा मार्दा ब्राउन सुगर र लागु औषध बरामद भएको जानकारी दिनुभयो । उहाँका अनुसार दोलखामा मधेशवाट यात्रुवाहक बसमा लागु औषध आउने गरेको सूचनाका आधारमा प्रहरीले ब्राउन सुगर बरामद गर्न सफल भएको थियो ।