images
images

गर्जाङ–खिम्ती प्रसारण लाइनका जग्गाधनीले पाएनन् क्षतिपूर्ति, गाउँपालिकाले गरायो ध्यानाकर्षण

जिरी (दोलखा) । नेपाल विद्युत प्राधिकरणले १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन निर्माण गर्ने क्रममा अधिग्रहण गर्नु पर्ने जग्गाको स्थानीय जग्गाधनीहरुले अझै क्षतिपूर्ति पाउन नसकेपछि  गोकुलगंगा गाउँपालिकाले पहल थालेको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका– १ को गर्जाङबाट सुरु भई दोलखाको तामाकोशी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका– १३ फुलासीस्थित नयाँ खिम्ती सब स्टेसन सम्मको प्रसारण लाइन सम्पन भएको दुई वर्ष पुग्नै लाग्दा समेत स्थानीय जग्गाधनीहरुले क्षतिपूर्ति पाउन नसकेपछि गोकुलगंगाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले पहल सुरु गर्नुभएको हो ।

प्रसारण लाइनवाट प्रत्यक्ष प्रभावित स्थानीयले क्षतिपूर्ति नपाएपछि गाउँपालिका अध्यक्ष खड्काले नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर उहाँले नागरिकको क्षति भएको जग्गाको क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन पहल गरिदिन अनुरोध गर्नुभएको छ ।

ध्यानाकर्षण पत्रमा प्रसारण लाइन निर्माणको क्रममा प्रभावित नागरिकको केही घर समेतको मुल्याङकन गरी तत्काल क्षतिपूर्ति उपलव्ध गराउन भनिएको छ । नागरिकको जग्गा र केही घरसमेतको मुल्याङ्कन भएपनि सो अनुसारको क्षतिपुर्ति रकम समयमै नपाएपछि उनीहरु पटक–पटक गुनासो लिएर पालिका धाउने गरेका छन् । ध्यानकर्षण पत्र बुझ्दै कार्यकारी निर्देशक घिसिङले समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यकारी निर्देशक घिसिङले एक महिना भित्र क्षतिको यकिन मुल्यांकन गरी क्षतिपूर्ति दिन आयोजना प्रमुखलाई निर्देशन पनि दिनुभएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । गोकुलगंगा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ का नागरिकहरुको जग्गामा गर्जाङ खिम्ती १३२ केभी प्रसारण लाइनको परियोजना निर्माणको क्रममा क्षति पुगेको थियो ।

पालिका अध्यक्ष खड्काले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँगको भेटमा ठोसे जलाशययुक्त आयोजना निर्माण र खिम्ती–१ मा देखिएको समस्या तथा प्रभावित क्षेत्रका नागरिकहरूले पाउनुपर्ने सेयरको विषय पनि उठान गर्नुभएको थियो ।

सो क्रममा कार्यकारी निर्देशक घिसिङले चासो देखाउँदै ठोसे जलाशययुक्त आयोजना छिटो निर्माणका लागि पहल गरिने र खिम्ती–१ मा देखिएको समस्या र स्थानीयले पाउने सेयरको विषयमा समेत छिट्टै निस्कर्षमा पुर्याउने आश्वासन दिनुभयो ।