काठमाडौँ । १६ वर्षअघि काठमाण्डौको कोटेश्वरमा हत्या गरी फरार रहेका दोलखाका एक पुरुष कतारबाट पक्राउ परेका छन् ।
प्रहरीले १६ वर्षअघि भएको हत्याको घटनामा संलग्न दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर २ टारका ३६ वर्षीय रामकुमार मगरलाई कतारबाट पक्राउ गरी काठमाडौं ल्याएको हो । २०६३ साल साउन २ गते काठमाडौं कोटेश्वरका २३ वर्षीय मनोज खड्काको कुटपिट र धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सो घटनाका मुख्य आरोपी वैतेश्वरका मगर थिए । घटनालगत्तै उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सँग सहकार्य गरेर प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरी काठमाडौँ ल्याएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिनुभयो ।
मगर वैदेशिक रोजगारीका क्रममा कतारमा गएर लुकेर बसेको खुलेपछि इन्टरपोलमा रेड नोटिस जारी गरिएका थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई रेडकर्नर नोटिस जारी गर्न गत चैत २४ गते पत्र पठाएको थियो । त्यसको आधारमा उनलाई कतारले डिपोर्ट गरेको थियो । प्रहरीका अनुसार उनलाई हिजो काठमाडौं ल्याएर अपराध अनुसन्धान कार्यालय बुझाइएको छ । सो घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताउनुभयो । पक्राउ परेका मगरमाथि कानूनी प्रक्रिया जिल्ला प्रहरी परिसर, काठमाडौंबाट अघि बढ्ने प्रहरीले जनाएको छ ।










