सोलुखुम्बु । सोलुखुम्बुको थामेमा आएको लेदोसहितको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ ।
हिजो दिउँसो खुम्बु पासाङल्हामु गाउँपालिका –५ थामेमा आएको लेदोसहितको बाढी हिमताल फटेर आएको पुष्टि भएको हो । रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीहरुको टोलीले आज बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा हिमताल फुटेर बाढी आएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो । अझै दुई वटा ताल फुट्न सक्ने जोखिम देखिएको भन्दै प्रजिअ पाण्डेले थामे नदी र सो क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
हिजो दिउँसो थामे खोलामा आएको बाढीका कारण थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ भने खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ ।