images
images

भीमेश्वर मन्दिरमा ‘कालि बाबा’ले गरे पुजा–आरधना, हिन्दु राष्ट्र कायम हुनु पर्ने माग

दोलखा । प्रसिद्ध हिन्दु धर्मगुरु ‘काली बाबा’ ले नेपाल हिन्दु राष्ट्र कायम हुनु पर्ने बताउनुभएको छ ।

दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिरको दर्शन र क्षमापूजा पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कालि बाबाले विगतको भुललाई स्विकार गरी क्षमायाचना सहित नेपाललाई हिन्दु राष्ट्र कायम गर्नु पर्ने बताउनुभएको हो । नेपाल पशुपतिनाथ र शान्तिका दूत गौतम बुद्धको देश भएको भन्दै उहाँले ८८ हजार ऋषिले तप गरेको भगवान सीता माताको पवित्र भूमीलाई हिन्दु राष्ट्र कायम गर्नु पर्ने धारणा राख्नुभयो ।

धर्मगुरु कालि बाबाले आफु अर्को पटक नेपाल फर्किदा हिन्दु राष्ट्र कायम भएको हेर्ने चाहना रहेको उल्लेख गर्दै हिन्दु भएर भगवानको चरणमा पूजा गर्न पाउने विश्वास व्यक्त गर्नुभयो । कालि बाबाले यस्तो भनिरहँदा मन्दिर परिसरमा रहेका राजा र राप्रपा समर्थक नेता, कार्यकर्ताहरुले हिन्दु राष्ट्रको पक्षमा नारावाजी गरेका थिए ।

भीमसेनलाई पसिना आउँदा देशमा अनेकौं घटना, दुर्घटना र अनिष्ट हुने भएकाले आफु भीमेश्वरको दर्शन र क्षमापूजाकालागि आएको कालि बाबाको भनाई छ । क्षमापूजाका क्रममा नेपालमा शान्ति, समृद्धि तथा भोकमरी, अत्याचार र भ्रष्टाचारको अन्त्यकालागि प्रार्थना गरेको उहाँले बताउनुभयो । भारतवाट केही दिनअघि मात्रै नेपाल आएका नेपाली मुलका चर्चित भारतीय धर्मगुरु कालि बाबाले नेपालमा शान्ति, समृद्धि, भाईचारा, एकता र अखण्डता कायम हुनु पर्ने धारणा राख्नुभयो ।

भीमेश्वर मन्दिरको दर्शन तथा पूजाकालागि कालि बाबा मनाङ एयरको हेलिकोप्टर चार्टर गरेर दोलखा आउनुभएको हो । धर्मगुरु कालि बाबा विहान ११ बजे आउने भनिए पनि निकै ढिलोगरी दिउँसो २ बजेर ४६ मिनेटमा मात्रै भीमेश्वर मन्दिर परिसर पुग्नुभएको थियो । भैरहवा गएका बाबा काठमाडौं फर्किएर दोलखा आउनुभएको हो । उहाँलाई दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्का, भीमेश्वर गुठीका अध्यक्ष भरत श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।

कालि बाबाको साथमा नेपालगञ्ज मेडिकल कलेजका अध्यक्ष एवँ व्यवसायी आनन्द बतास र पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव डाक्टर मिलनकुमार थापा पनि दोलखा आएका थिए ।