images
images

दोलखामा व्यवसायिक पशुपालन गर्ने कृषक घटे, बजारको माग धान्न गाह्रो

  • १ आश्विन २०७९, शनिबार ०९:४०

दोलखा । दोलखामा व्यवसायीक पशुपालन गर्ने कृषकको संख्या घटेसँगै दुध उत्पादनमा पनि कमी आउन थालेको छ ।

व्यवसायीक पशुपालनको प्रचुर सम्भावना भएपनि जिल्लामा पशुपालन गर्ने कृषकको संख्या घटेसँगै दुध उत्पादनमा कमी आउन थालेको हो । जसका कारण जिल्लामा उत्पादित दुधले बजारको माग धान्न समेत हम्मे हम्मे परेको छ । बजारको माग धान्न दैनिक दुई हजार लिटर दुध आवश्यक पर्ने भएपनि अहिले दैनिक १४ सय लिटर मात्रै दुध संकलन हुने गरेको हो । यसलाई हेर्दा जिल्लामा अहिले दैनिक ६ सय लिटर दुध अपुग देखिएको छ ।

बजारको माग धान्न गाह्रो

किसानहरुले परम्परागत रुपमा दैनिक घरायसी उपयोगका लागि मात्रै हुनेगरी पशुपालन गर्ने र उत्पादित दुध तथा दुधजन्य परिकार गाउँघरमै खपत गर्ने गरेका कारण बजारमा दुध प्रर्याप्त मात्रामा आउन नसकेको हो । दोलखा जिल्लामा बर्षौअघि स्थापना भएको दोलखा दुग्ध उद्योगले पर्याप्त दुध खरिद गर्न नपाएपछि अहिले बजारको माग धान्न गाह्रो भएको बताएको छ । दोलखा दुग्ध उद्योगका डेरी टेक्नोलोजिष्ट चक्रवर्ती पौडेलका अनुसार गत वर्षसम्म दोलखा दुग्ध उद्योगले दैनिक १८ सय लिटरसम्म दुध संकलन गर्ने गरेको थियो । तर व्यवसायीक रुपमा पशुपालन गर्ने किसानको संख्या घटेसँगै उद्योगले हाल दैनिक १४ सय लिटर मात्रै दुध संकलन गर्ने गरेको छ । जुन बजारका लागि अपुग छ । बजारको माग धान्न दैनिक दुई हजार लिटरसम्म दुध संकलन हुनुपर्नेमा दैनिक १४ सय लिटर मात्रै दुध संकलन भएपछि बजारको माग अनुसार दुध पु¥याउन नसकिएको डेरी टेक्नोलोजिष्ट पौडेलले बताउनुभयो ।

बजारमा घ्यु समेत अभाव

डेरीवाट उत्पादित दुध चरिकोट र दोलखाकै अन्य बजारमा स्ट्यान्र्डर दुध प्रतिलिटर ८८ रुपैयाँ, दहि १ सय २०, पनिर प्रतिकिलो ७ सय र पेडा प्रतिकिलो ७ सय ७५ रुपैँयामा विक्रि हुँदै आएको छ । उद्योगले भने फ्याटको मात्राको आधारमा दुधको मुल्य किसानलाई दिने गरेको छ । उद्योगवाट दुध, दहि, मोही, घ्यु, चिज, खुवा, पेडा लगायतका परिकार उत्पादन गरी काठमाण्डौंको बजारसम्म निर्यात गर्ने लक्ष्य राखिएको थियो । तर अहिले दुध उत्पादनमा कमी आएसँगै बजारमा घ्यु समेत अभाव हुन थालेको छ । दैनिक संकलन गरिएको दुधले अन्य परिकार बनाउन नधान्ने भएकाले समस्या भएको दोलखा दुग्ध उद्योगले जनाएको छ । दोलखा दुग्ध उद्योग लिमिटेडको दैनिक प्रशोधन क्षमता १० हजार लिटर भए पनि दुध अभावकै कारण पर्याप्त उत्पादन गर्न सकेको छैन ।

साँढे ४ सय लिटरसम्म दुध उत्पादन

गाई आनुवांसिक स्रोत केन्द्र जिरीबाट भने दैनिक ४ सय देखि साँढे ४ सय लिटरसम्म दुध उत्पादन हुने गरेको छ । जिरीमा उत्पादित दुधले भने जिरी बजार क्षेत्रको माग धानेको छ । आनुवांशिक स्रोत केन्द्रमा पालिएका ६३ वटा गाईमध्ये ४२ वटा गाईले दुध दिने गरेको छ । प्रत्येक गाईले ९ देखि साँढे ९ लिटरसम्म दैनिक दुध दिने गरेको गाई आनुवांसिक स्रोत केन्द्र जिरीले जनाएको छ । केन्द्रका अनुसार सो दुध संकलनको जिम्मा निजि कम्पनीलाई दिइएको छ । टेन्डर आह्वान गरेर छनोट भएको निजि कम्पनीले गाई आनुवांसिक स्रोत केन्द्रमा उत्पादित दुध संकलन गरेर बजारमा लगि बिक्री गर्दै आएको छ । केन्द्रले दुध प्रतिलिटर ६२ रुपैँया ३० पैसामा लैजाने गरी निजि कम्पनीलाई विक्रि गरेको हो ।