images
images

माथिल्लो तामाकोशीको बाँध सफाइ हुँदै,लामाबगरदेखि सुनकोशी नदीको दोभानसम्म पानीको सतह घट्बढ हुने

  • १ आश्विन २०७९, शनिबार १०:१८

जिरी (दोलखा) । आज तामाकोशी नदीमा पानीको सतह दिनभर घट्बढ हुने भएको छ ।

आज दोलखाको विगू गाउँपालिका वडा नम्बर १ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको सरसफाई गर्ने भएकाले पानीको सतह दिनभर घट्बढ हुने भएको हो । सफाइ अवधीमा आज तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छ्योतछ्योत¸ गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सिन्धुलीको खुर्काेट, सुनकोशी नदिको दोभानसम्म तामाकोशी नदीको पानीको सतह बढ्ने घट्ने चक्र भइरहने भएकाले सर्तकता अपनाउनुपर्ने देखिन्छ । आयोजनाले वार्षिक कार्यतालिका अनुसार नै आयोजनाको जलाशयको सफाई गर्न लागेको हो । आयोजनाको जलाशय सफाइ विहान ४ बजेदेखि राती १२ बजेसम्म हुनेछ । सोही कारण सो अवधिभर तामाकोसी नदिमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न/नगराउन आयोजनाले आग्रह गरेको छ । नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न गराउन समेत आग्रह गरिएको छ ।

वर्षातको समयमा माथिल्लो क्षेत्रबाट बाढीले बगाएर ल्याएका ग्राभेल, बालुवा सहितका सामाग्री जलाशयमा थुप्रिदा पानी कम हुन्छ । २ किलोमिटर लामो जलाशय सफा गरेपछि जलाशयमा पानी बढी हुन्छ । वर्षात सकिएर हिउँद लाग्ने सिजन भएकाले आयोजनाले असोज लागेसँगै जलाशय सफा गर्ने तालिका बनाएको हो । तर, पनि वर्षा हुने क्रम नरोकिएकाले अहिले पनि तटीय क्षेत्रमा जोखिम कायमै छ । आयोजनाको जलशतमा एक मिटरदेखि डेढ मिटर सतहसम्म जम्मा भएको बालुवा, ग्राभेल लगायतको सरसफाई गर्न लागिएको आयोजनाका प्लान्ट म्यानेजर पूर्णगोपाल रञ्जितले बताउनुभयो ।

अर्धजलासययुक्त यो आयोजनामा हिउँदका समयमा पनि पानी जम्मा गरेर दैनिक ६ घण्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिन्छ । अनावश्यक सामग्री सफा गर्दा जलाशयमा पानीको मात्र बढी बढाउन सकिने भएकाले हिउँदमा बढी विद्युत उत्पादन गर्न सकिन्छ । आज जलाशय सफाइको दिन आयोजनाको विद्युत उत्पादन पनि बन्द हुनेछ ।