images
images

रामेछापको दोरम्बा पहिरोमा मृत्यु भएका ५ जनाको परिवारलाई सरकारको राहत, दुई अझै वेपत्ता

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोमा परि ज्यान गुमाएका ५ जनाको परिवारलाई राहत प्रदान गरिएको छ ।

पहिरोमा परि मृत्यु भएका ५ जनाको परिवारलाई संघीय सरकारबाट प्रतिमृतक दुई लाख र प्रदेश सरकारबाट प्रतिमृतक एक लाखका दरले राहत प्रदान गरिएको हो । पहिरोमा परि मृत्यु भएका दोरम्बा शैलुङ गाउँपालिका –३ टोकरपुर लेखखर्कका पुडकी पहरी, सन्दिप पहरी, सन्तोष पहरी, चण्डिका थापा मगर र आमोष श्रेष्ठको परिवारलाई राहत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई संघीय सरकारबाट दुई लाख र प्रदेश सरकारबाट एक लाखका दरले राहत प्रदान गरिएको हो ।

तर, एकाघरको एक भन्दा बढिको मृत्यु भएमा प्रति मृतक डेढ लाख दिने व्यवस्था भएकाले चण्डिका र आमोषको परिवारलाई सोही अनुसार राहत उपलव्ध गराईएको गाउँपालिका अध्यक्ष मोक्तानले बताउनुभयो । पहिरोमा परि मृत्यु भएका चण्डिका र आमोष आमाछोरा हुन् । बाँकी मृतकको परिवारलाई राहत वितरणका लागि कानुनी प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ ।

दोरम्बा शैलुङ गाउँपालिका ३ लेखखर्कमा भदौ ९ गते बिहानै गएको पहिरोमा परि ११ जना वेपत्ता भएका थिए । त्यसमध्य एक जनालाई घाईते अवस्थामा उद्धार गरिएको थियो भने ७ जनाको शव फेला परेको थियो । एक जनाको खुट्टाको केही भाग मात्रै फेला परेको छ भने दुई जना अझै वेपत्ता छन् ।

खुट्टाबाट पहिचान गरि आफन्तले बुझेपनि डिएनए परिक्षणबाट मात्रै स्पष्ट हुने रामेछाप प्रहरीले जनाएको छ । सो खुट्टा पहिरोमा वेपत्ता भएकी विन्दा पहरीको भएको भन्दै आफन्तले बुझेका थिए । तर, उनको भए नभएको एकिन गर्नका लागि डिएनए परिक्षणको तयारी भईरहेको रामेछापका प्रहरी निरिक्षक (ईन्स्पेक्टर) कौशल न्यौपानेले जानकारी दिनुभयो । पहिरोमा परेका स्थानीय काले पहरी र झ्याउँकीरी पहरी भने अझै वेपत्ता छन् ।