काठमाडौं । खाद्यान्नमा आत्मनिर्भर नेपालमा एक वर्षमा ७४ अर्बको खाद्यान्न आयात भएको छ ।
खाद्यान्नमा नेपाल बचतकै अवस्थामा रहे पनि बर्सेैनी निकै ठुलो परिमाणमा खाद्यान्न आयात हुने गरेको हो । मुलुका आर्थिक वर्ष २०७८/७९ मा १ करोड ७ लाख ७२ हजार मेट्रिकटन धान, मकैं, गहु, कोदो उत्पादन भएको छ । मुलुकको जनसङ्ख्याका लागि वार्षिक ५८ लाख ६७ हजार मेट्रिक टन प्रशोधित खाद्यान्न आवश्यक पर्छ । खाद्यान्न उपलब्धता र आवश्यकताका हिसाबले १६ लाख ६३ हजार मेट्रिक टन खाद्यान्न बचत रहेको मन्त्रालयको तथ्याङ्क छ ।
राष्ट्रिय तहमा खाद्यान्न बचत देखिए पनि पारिवारिक तहमा करिब २१ प्रतिशत नेपाली अझै दैनिक निर्धारित क्यालोरीको न्यूनतम मात्राभन्दा कम प्राप्त गरिरहेको तथ्याङ्क कृषि मन्त्रालयकै छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखा प्रमुख एवं सहसचिव सबनम सिवाकोटीले कुल खाद्यान्नमा मुलुक आत्मनिर्भर भएर बचत देखिएको बताउनुभयो ।










