images
images

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने

दोलखा । आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा दोलखाको गैरीशंकर गाउँपालिकाको उपाध्यक्षमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने भएको छ ।

निर्वाचन आयोगले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन निर्देशन दिने निर्णय गरेपछि दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा महिला उम्मेदवार बनाउनुपर्ने भएको हो । आयोगको निर्णय अनुसार दोलखाको गौरीशंकर गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका र बाजुराको स्वामीकात्र्तिक खापर गाउँपालिकाको उपप्रमुखमा दलहरुले महिलालाई उम्मेदवार बनाउनुपर्ने भएको छ । तीन वटै पालिकामा पुरुष प्रमुख भएकाले उपप्रमुखमा महिला उम्मेदवार बनाउनुपर्ने भएको हो ।

काठमाडौँको कीर्तिपुर नगरपालिका, मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुखमा भने पुरुष उम्मेदवार बनाउनुपर्ने भएको छ । तीन पालिकाको प्रमुख पदमा उपनिर्वाचन हुन लागेको छ । तीनै पालिकामा महिला उपप्रमुख भएकाले प्रमुखमा पुरुष उम्मेदवार बनाउनुपर्ने भएको हो ।

संविधान र कानुनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न यस्तो निर्णय गरिएको निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । निर्वाचन कानुनमा स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्य एक पदमा महिलालाई उम्मेदवार उठाउनुपर्ने व्यवस्था छ ।

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गतेका लागि तोकिएको छ ।