images
images

गंगा कार्कीको राजनीतिक संघर्ष र चुनावी मैदान

मंसिर ४ गते हुने आम निर्वाचनमा दोलखावाट प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की चुनावी मैदानमा उत्रिएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका दलहरुको बाम–लोकतान्त्रिक गठबन्धनवाट साझा उम्मेदवार बनेका कार्की नेकपा माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य हुन् । ५७ बर्षिय नेता कार्की गठबन्धनको साझा उम्मेदवार बनेसँगै दोलखाली बामपन्थी आन्दोलनमा कार्कीले पु¥याएको योगदानको पुनः चर्चा सुरु भएको छ । इमान्दार र स्वच्छ छविका नेता कार्की आफ्नो राजनीतिक जीवनमा पहिलो पटक आम निर्वाचन लड्दै छन् । जनयुद्ध लडेर आएका नेता कार्कीले शान्ति प्रक्रियापछिको १५ बर्षको अवधिमा कुनै अवसर पाएका छैनन् । उनले अहिलेसम्म कुनै राजनीतिक नियुक्ती वा लाभको पद लिएका छैनन् । हामीले यो लेखमा बाम गठबन्धनवाट प्रतिनिधिसभामा साझा उम्मेदवार बनेका नेता कार्कीको राजनीतिक इतिहासलाई संक्षिप्तरुपमा उतार्ने प्रयास गरेका छौं ।

दोलखाको जुँगु गाविस–७ फाल्टुकमा वि.स २०२२ सालमा पिता टेकबहादुर कार्की र माता अमृतकुमारी कार्कीको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिएका गंगा कार्की नेकपा माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य हुन् । पार्टीमा उनी (विश्व) उपनामले चिनिन्छन् । सात भाइमध्ये जेठो र तीन बहिनीका दाजु गंगाको परिवार मध्यमवर्गीय परिवार हो । किसान परिवारकै सन्तान भएपनि पिता टेकबहादुरले उनलाई पढ्नबाट वञ्चित भने गराएनन् । १६ वर्षको कलिलो उमेरमा जुँगु–६ कसेरी निवासी वृखबहादुर खड्काकी ठाइली छोरी दुर्गा खड्कासँग मागी विवाह गरेका गंगा कार्की चार सन्तानका पिता हुन् । जनयुद्धका सहिद रितबहादुर खड्का गंगाका सालो थिए । उनकी पत्नी दुर्गा कार्की पनि जनयुद्ध कालदेखि नैं माओवादी राजनीतिमा सक्रिय छिन् । जेठो छोरा विश्वास कार्की पनि जनयुद्धमा भूमिगत भएका थिए । विस्वास गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।

१६ बर्षमा चार मुद्धा

बाल्यकालदेखि नै विद्रोही स्वभावका गंगाले आफ्नै गाउँको निलकण्ठेश्वर प्राविमा ५ कक्षासम्म अध्ययन गरेका थिए । सानै उम्मेरदेखि अध्ययनभन्दा खराब कुरा र गलत कामका विरुद्ध आवाज बुलन्द पार्ने गंगाले कक्षा ६ देखि १० सम्म जिरी माविमा पढेका थिए । पूर्व सांसद इन्द्रबहादुर खड्का उनका गुरु हुन् । २०३८ सालमा जुँगुमा राष्ट्रिय पञ्चायतको चुनाव विरुद्ध विद्रोह भएको थियो । गंगा र गाउँलेले मिलेर निर्वाचन मतपेटिका कब्जा गरी जलाइदिएका थिए । तत्कालिन पञ्चायती व्यवस्था र शासकविरुद्ध हिम्मतका साथ गरिएको त्यो विद्रोहमा गंगाको महत्वपूर्ण भूमिका थियो । १६ वर्ष उमेरका गंगाको जीवनमा त्यो पहिलो विद्रोह थियो । त्यही घटनालाई लिएर पञ्चायती शासकले उनी विरुद्ध मुद्धा लगायो । त्यो मुद्दा राज्य विप्लवको मुद्दा थियो ।

जिरी माविमा अध्ययन गर्दा पनि उनी त्यतिकै चुप लागेर बसेनन् । विधालयमा भएको आर्थिक अपारदर्शिताका बिषयमा गंगाकै नेतृत्वमा बिधार्थीहरुले जोडदार रुपमा आवाज उठाए । गंगा, भेषबहादुर खड्का लगायतका समकालीन विद्यार्थीले हिनामिना रकम विद्यालय कोषमा जम्मा गराउन आन्दोलन नै गर्नुप¥यो । नाराबाजी, प्रदर्शन र दबाब एकैसाथ सिर्जना गरेर सो रकम फिर्ता गराउन उनीहरु सफल पनि भए । बिधालय व्यवस्थापन समिति बिरुद्धको प्रर्दशनलाई लिएर तत्कालीन जिरी चौकीमा विद्यार्थी र प्रहरीबीच दोहारो झडप नै भएको थियो । गंगाले १६ वर्षको उमेरमा प्रवेशिका परीक्षा दिँदा पञ्चायती शासकले विभिन्न बहानामा उनलाई धेरैपटक सास्ती र आतङकित बनाएका थिए । कलिलै उमेरमा राज्यले उनलाई विभिन्न ४ वटा मुद्धा लगाएको थियो । पटक–पटक पक्राउका लागि प्रहरी परिचालित गर्दा पनि उनलाई पक्राउ गर्न भने सकेन ।

मोजा उद्योगका मजदुर

वैवाहिक जीवनमा बाँधिएका गंगालाई विस्तारै आर्थिक संकटले पिरोल्न थाल्यो । घरको ठूलो परिवार त्यसमाथि पनि जेठो छोरो । पितालाई घरव्यवहार चलाउन सक्दो सहयोग गर्नु उनैको दायित्व थियो । त्यसैले २०४१ सालदेखि उनले कालिञ्चोक गाविसको क्याम्पोल प्राविमा शिक्षक जागिर खाए । तर पञ्चायत विरुद्ध आवाज बुलन्द गर्दै आएका गंगालाई पञ्चायतका शासकले त्यहाँ पनि टिक्न दिएनन् । जागिर खाएको वर्षदिन नपुग्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष यज्ञबहादुर पाण्डेले पञ्चायत विरोधी क्रियाकलाप गरेको आरोप लगाउँदै धम्काएपछि उनले (तिमी नैं जागिर खाऊ) भनी जागिर छोडेका थिए । त्यसपछि गंगा परिवार लिएर कामको खोजीमा राजधानी काठमाडौंतर्फ लागे । काठमाडौं गएर उनले (जेनिथ निटिङ मिल्स) पकनाजोलमा मजदुरी गर्न थाले । यो मिल्सले मोजा उत्पादन गथ्र्यो । दुर्गाचाँहि गार्मेन्टमा काम गर्थिन । दिनको १२ घण्टाका दरले काम गरेपछि मासिक ३ सय ८५ रुपैयाँ तलब आउँथ्यो । गंगा सो फ्याक्ट्रीमा ७ वर्षसम्म काम गरेको बताउँछन् ।

त्यो बेला उनले मजदुरीसँगै मजदुर संगठनमा बसेर काम पनि गरे । पछिल्लो समय गंगा होजियारी मजदुर संघका कोषाध्यक्ष भए । मोजा उद्योगबाट काम छोड्दा अखिल नेपाल ट्रेड युनियन महासंघ वागमती समन्वय समितिका कोषाध्यक्ष थिए, उनी । त्यहीबेला शंकर लामा पनि काठमाडौंको वसन्ती पाउरोटी उद्योगमा काम गर्थे । मजदुर संघमा काम गर्ने सिलसिलामा गंगा र शंकरको भेट भएको थियो ।

राजनीतिक शुरुवात

गंगाको राजनीतिक जीवनको पहिलो शुरुवात २०४२ सालबाट भएको हो । उनकै भनाईमा सिन्धुलीका ईश्वरी दाहाल (असारे काका) मार्फत तत्कालीन मसालमा सम्पर्क भएको थियो । मोजा उद्योगमा काम गर्दा असारेसँग सम्पर्क भएपनि व्यस्तताका कारण पार्टी संगठनलाई प्रगाढ बनाउन नसकेको गंगा बताउँछन् । पछि पार्टी फुटेपछि सम्पर्क पुरै टुटेको जानकारी उनले दिए । २०४७ सालमा मजदुर संगठनमार्फत नेता दिनेश शर्मासँग सम्पर्क भएपछि पार्टी सदस्यता लिएका गंगा २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला सेक्रेटरी भएर जिल्ला फर्किएका थिए । त्यतिखेर पार्टी अर्धभूमिगत अवस्थामा रहेकाले पुरानो बजारमा जनमोर्चाको नामबाट सम्पर्क कार्यालय खोलेर पार्टी गतिविधि अगाडि बढाइएको थियो ।

गंगाकै भनाईमा सामान्य संगठन र थोरै शुभचिन्तक भएको एकता केन्द्रको जिल्लामा खासै प्रभाव थिएन । २०४८ साल चैत २४ गते गौरीशंकर क्याम्पस प्रशासनको विरोधमा क्याम्पस हाताभित्र अनेरास्ववियूले कालो झण्डा गाड्ने क्रममा तत्कालीन क्याम्पस चिफले रितबहादुर खड्कालाई कुटपीट गरेपछि चरिकोटमा एकता केन्द्रका कार्यकर्ता र गुण्डाहरुबीच झडप भएको थियो । यो घटनाले त्यतिबेला निकै चर्चा पाएको थियो । त्यही घटनापछि जिल्लामा एकताकेन्द्र स्थापित भएको मान्छन् गंगा । त्यसपछि उनी २०४८ सालमा एकता केन्द्रको क्षेत्रीय ब्यूरो सदस्य पनि भएका थिए ।

डिटोनेटर कब्जा गर्ने योजना

२०५१ सालमा एकता केन्द्र फुटेर माओवादी बनेपछि गंगा पनि त्यतै लागे । अत्यन्तै गोप्य रुपमा भूमिगत जनयुद्ध शुरु गर्न केन्द्रीय तयारी हुँदै थियो । तर त्यस विषयमा उनका सहयोगी शंकर लामा, रितबहादुर खड्का, बद्री चौलागाई, विश्वमणी चौलागाई, वीरबल थापा, केदार गौतमलाई कुनै जानकारी दिइएन । पुसमहिना देखि उनीहरुले पनि जनयुद्ध शुरु हुने बारेमा थाहा पाएका थिए । २०५२ सालको पुस २७ र २८ गते दोलखा बजारस्थित मुक्ति प्रधानको घरमा केन्द्रीय नेता सहितको उपस्थितिमा चरिकोटस्थित डिभिजन सडक कार्यालयको बङकर हाउस कब्जा गर्ने योजना बन्यो । त्यो बैठकमा गंगा, शंकर लामा, रितबहादुर खड्का, हेम श्रेष्ठ, पूर्णबहादुर खड्का र बद्री चौलागाई थिए ।

पार्टी भूमिगत भएर जनयुद्ध सञ्चालन गर्ने टुंगोमा पुगे पनि कहिलेदेखि जनयुद्ध शुरु हुने यकिन नहुँदै गंगाले त्यो योजना बनाएका थिए । माघ २ गते बेलुकी नै बङकर हाउस कब्जा गरी विष्फोटक पदार्थ लिएर भूमिगत हुने अन्तिम योजना बन्यो । पूर्व योजना अनुरुप ६ जनाकै टोली सदरमुकाम चरिकोटस्थित एक घरमा भेला भए । खाना खाएर ९ बजे (मिसन एरिया) तर्फ लाग्ने कुरा थियो तर बद्री चौलागाई (शिक्षकको मिटिङ छ) भनेर हिँडे । बाँकी पाँच जनाको टोलीले राती साँढे ११ बजेसम्म उनको प्रतीक्षा ग¥यो । तर नआएपछि उनीहरु अघि बढे, बद्री सो कार्यमा सहभागी भएनन् । गंगाको भनाईमा बद्रीले धोका त दिए तर विश्वासघात भने गरेनन् । राती २ बजेभित्र सडकको बङकर हाउसबाट ४२ हजार ७ सय थान डिटोनेटर र ६ क्वायल फ्युज वायर कब्जा गरी उनीहरु पाँच जना एकैसाथ भूमिगत भए ।

उनीहरु भूमिगत भएपनि जनयुद्धको शंखघोष कहिले हुने पुरै थाहा थिएन । राज्यलाई समेत डिटोनेटर कब्जा गर्नुको खास कारण थाहा थिएन । डिटोनेटर कब्जाले जनयुद्ध शुरु गर्न नयाँ उत्साह दिएको गंगाको दाबी छ । माओवादी पार्टीले पनि दोलखाको डिटोनेटर कब्जाले जनयुद्ध शुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भनी संश्लेषण समेत गरेको छ ।

मैनापोखरीदेखि चौतारा मोर्चासम्मका कमिसार

भूमिगत जनयुद्ध शुरु भएपछिका ११ वर्षको अवधिमा गंगा कार्कीले सांगठनिक र सैन्यफाँट दुबैमा बसेर काम गरे । २०५८ सालमा जनमुक्ति सेनाको कम्पनी कमिसार भएका गंगा अस्थायी बटालियनमा कमिसार हुँदै पछिल्लो अवधिमा वेथान स्मृति ब्रिगेडका राजनीतिक कमिसार थिए । सैन्य कमिसार भएपछिको मैनापोखरी मोर्चा उनको पहिलो मोर्चा थियो । उनको अन्तिम मोर्चा चाँहि चौतारा मोर्चा थियो । चौतारा आक्रमणमा सहभागी जनमुक्ति सेनाको ३ ब्रिगेडमध्ये कार्की बेथान स्मृति ब्रिगेडका कमिसार थिए । ११ वर्षको अवधिमा उनले प्रत्यक्ष⁄अप्रत्यक्ष दर्जनौ मोर्चाहरु लडेका छन् । जनमुक्ति सेनाका कमिसारमध्ये कुशल लडाकु र योजनाकार मानिने कार्की सोलुको सल्लेरीमा सेनामाथि समेत लडेको मोर्चालाई आफ्नो अविस्मरणीय मोर्चा ठान्छन् ।

जिल्ला सेक्रेटरीदेखि पोलिट्व्यूरो सम्म

पार्टी भूमिगत हुँदा दोलखा जिल्ला सेक्रेटरी भएका गंगा कार्की माओवादी पार्टीको केन्द्रीय सदस्य समेत बने । पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बनेका २०५७ देखि २०६१ सम्म केन्द्रीय नेतृत्वमा रहेर काम गरे । चुनवाङ बैठकले पार्टी शुद्धिकरण अभियान अन्तर्गत ९५ सदस्यीय केन्द्रीय कमिटिलाई ३३ सदस्यीय समितिमा झारेपछि उनको जिम्मेवारी क्षेत्रीय ब्यूरो सदस्यकोरुपमा थियो । लामो समय नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका कार्की पछिल्लो समय पार्टीको पोलिट्व्यूरो सदस्यको जिम्मेवारीमा छन् । नेता कार्की माओवादी केन्द्रको उद्योग व्यापार विभागको इन्चार्ज पनि हुन् ।

इमान्दारिताको प्रतिक

कार्कीले जनयुद्धको अवधिमा २०५४ सालमा सोलु ओखलढुंगाको जिल्ला सेक्रेटरी, २०५५ देखि साढे ३ वर्ष भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ र धनुषाको जिल्ला सेक्रेटरी र इन्चार्जको जिम्मेवारी पनि निर्वाह गरेका थिए । पार्टीको विभिन्न महत्वपूर्ण पदमा रही काम गरेका गंगा कार्की दोलखाबाट डिटोनेटर कब्जा गरी भूमिगत भएपछि २०५२ साल फागुन १ गते काभ्रेपलाञ्चोक जिल्लाको मेच्छेमा सामन्त दौलत सिंह दोङको सम्पति कब्जामा पनि सहभागी थिए । जनयुद्धको शंखघोष भएकै दिन गरिएको त्यो पहिलो कब्जा थियो ।
जनयुद्ध, जनआन्दोलन हुँदै ३७ बर्ष लामो राजनीतिक यात्रा गरेका कार्की दोलखाका सिनियर नेता मध्ये एक हुन् । स्वर्गीय कांग्रेस नेता भिमवहादुर तामाङ र स्वर्गिय एमाले नेता पशुपति चौंलागाई जस्तै माओवादी केन्द्रका नेता गंगा कार्कीको जीवनशैली पनि सरल छ । विचारमा प्रस्ट र कम्युनिष्ट आदर्शवाट दिक्षित कार्कीको जीवनशैलीमा कम्युन पद्धति देख्न सकिन्छ । उनी निश्कलंकित र आदर्शवान नेताकोरुपमा चिनिन्छन् ।

सम्भावित चुनौती र नतिजा

इमान्दारिताको प्रतिककोरुपमा रहेका गंगा कार्की बाम लोकतान्त्रिक गठबन्धनवाट चुनावी मैदानमा उत्रिएका बेला एमालेका व्यवसायीक पृष्ठभूमिका उम्मेदवार बालकृष्ण शिवाकोटीसँग मुख्य प्रतिश्पर्धा हुँदैछ । निकै लामो राजनीतिक जीवनमा चुनावी मैदानमा पहिलो पटक चुनावी मैदानमा उत्रिएका कार्की र लामो समयदेखि उद्योग व्यवसायमा सक्रिय शिवाकोटीको राजनीतिक छलाङसहितको उम्मेदवारी वीचको प्रतिश्पर्धा निकै रोचक छ । चुनावी मैदानमा दुवै नयाँ अनुहार र सालिन शैलीका देखिए पनि प्रतिश्पर्धा पूँजिपति वर्गका प्रतिनिधि र मजदुरीवाट नेतृत्वमा पुगेका नेता वीच हुँदैछ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी सहितको बाम लोकतान्त्रिक गठबन्धनवाट साझा उम्मेदवार बनेका कार्कीको दलीय मतका आधारमा बिजय सुनिश्चित देखिन्छ । विगतका संसदीय निर्वाचनको नतिजालाई हेर्दा जिल्लाको दोश्रो शक्ति कांग्रेस, तेश्रो शक्ति माओवादी केन्द्र र एमालेवाट फुटेर बनेको नयाँ शक्ति नेकपा एस अहिले एक ठाउँमा छन् । पछिल्लो स्थानीय तहको निर्वाचन परिणाम र मतलाई हेर्दा पनि पहिलो र दोश्रो र चौथो शक्ति वीच चुनावी गठबन्धन छ । यो गठबन्धनका उम्मेदवारसँग एक्लै प्रतिश्पर्धा गर्नु परेका कारण पनि एमालेका लागि ठूलो चुनौती देखिन्छ ।

गठबन्धनका दलहरुवीच कुनै अन्र्तघात भएन भने साझा उम्मेदवारको जित सुनिश्चित भन्न सकिन्छ । तर, दलीय गठबन्धनका दलहरु वीचका असमझदारी, आन्तरिक पार्टीभित्र देखिएका समस्यालाई मतदानको दिन अगावै समाधान गर्न जरुरी छ ।