images
images

दोलखामा ६ उम्मेदवार वीचको टक्कर, यसरी हुँदैछ मैदानमा ‘इलेक्सन ब्याटल’

जिरी (दोलखा) । आसन्न निर्वाचनमा दोलखाको चुनावी मैदानमा ६ उम्मेदवारबीच कडा टक्कर हुने देखिएको छ ।

दोलखाबाट निर्वाचन लड्नका लागि ५२ जना चुनावी मैदानमा रहेपनि गठबन्धन दलका ३ र एमालेका ३ जना उम्मेदवारवीचको ‘इलेक्सन ब्याटल’ लाई महत्वका साथ हेरिएकोे हो । दोलखाको चुनावी मैदानमा हुने ‘ब्याटल’ का लागि अब ३ दिन मात्रै बाँकी छ । अबको ३ दिनमा हुने निर्वाचनपछि परिणाम सार्वजनिक हुनेछ ।
तर, यो बेला दोलखाबासी सबैको मनमा यो पटकको निर्वाचनमा कसले बाजी मार्लान् ? भन्ने कौतुहलता छ । मतदाताहरु कुन उम्मेदवारलाई मत हाल्ने र जिताउने भन्ने निर्णयमा पुग्ने बेला आएको छ । जिल्लामा मनोनयन दर्ता गराएका ५२ जना उम्मेदवार मध्ये गठबन्धनका ३ र एमालेका ३ सहित ६ जना उम्मेदवारलाई मुख्य प्रतिस्पर्धी र महत्वका साथ हेरिएको छ ।

प्रतिनिधिसभातर्फ गठबन्धन दलका साझा उम्मेदवार एवम् माओवादी नेता गंगा कार्की र एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीवीचको ब्याटल र प्रदेशसभातर्फ गठबन्धनबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका कांग्रेसका कुन्दनराज काफ्ले र एमालेका नरबहादुर श्रेष्ठ तथा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका कांग्रेसका बर्मा लामा र एमालेका भरत केसीबीचको ब्याटल रोमाञ्चक हुनेछ ।

यो पटक संघतर्फ उम्मेदवार बनेका कार्की र शिवाकोटी दुवै नयाँ अनुहार छन् । त्यसैले दुई जनाबीचको प्रतिस्पर्धालाई सबैले चासोका साथ हेरेका छन् । दोलखामा माओवादी केन्द्रका पाँच संस्थापक नेता मध्येका एक हुन् गंगा कार्की । ५७ बर्षिय नेता कार्की गठबन्धनको साझा उम्मेदवार बनेर चुनावी मैदानमा आएसँगै दोलखाली बामपन्थी आन्दोलनमा कार्कीले पु¥याएको योगदानको पुनःचर्चा हुन थालेको छ । पार्टीमा (विश्व) उपनामले परिचित गंगाको राजनीतिक जीवनको पहिलो शुरुवात २०४२ सालबाट भएको थियो । जनयुद्ध लडेर आएका नेता कार्कीले शान्ति प्रक्रियापछिको १५ बर्षको अवधिमा कुनै अवसर पाएका छैनन् । उनले अहिले सम्म कुनै राजनीतिक नियुक्ती वा लाभको पद लिएका छैनन् । इमान्दार र स्वच्छ छविका नेता कार्की आफ्नो राजनीतिक जीवनमा पहिलो पटक आम निर्वाचन लड्न लागेपछि पछिल्लो पटक जिल्लामा कार्कीको पक्षमा चुनावी माहोल बढेको बताइन्छ । गठबन्धनका दलहरु कांग्रेस र एकीकृत समाजवादीको पनि सहयोग पाएपछि कार्की निर्वाचन जित्नेमा ढुक्क छन् ।

जिल्लामा मनोनयन दर्ता गराएका ५२ जना उम्मेदवार मध्ये गठबन्धनका ३ र एमालेका ३ सहित ६ जना उम्मेदवारलाई मुख्य प्रतिस्पर्धी र महत्वका साथ हेरिएको छ । प्रतिनिधिसभातर्फ गठबन्धन दलका साझा उम्मेदवार एवम् माओवादी नेता गंगा कार्की र एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीवीचको ब्याटल र प्रदेशसभातर्फ गठबन्धनबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका कांग्रेसका कुन्दनराज काफ्ले र एमालेका नरबहादुर श्रेष्ठ तथा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका कांग्रेसका बर्मा लामा र एमालेका भरत केसीबीचको ब्याटल रोमाञ्चक हुनेछ ।

एमालेले पनि प्रतिनिधिसभामा नयाँ अनुहारलाई अघि सारेको छ । दोलखाको चुनावी इतिहास एमालेको पक्षमा छ । तर, सो इतिहासलाई उल्ट्याएर क्लिन स्वीप गर्ने कांग्रेस, माओवादी र एकीकृत समाजवादीको दाउ देखिन्छ । २०५१ सालको मध्यावधि निर्वाचनमा दोलखा क्षेत्र १ मा र २०६४ को संविधानसभा निर्वाचनमा दोलखाका दुवै क्षेत्रमा एमालेले हार व्यहोरेपनि त्यसबाहेकका निर्वाचनमा एमालेले विजयी प्राप्त गर्दै आएको छ ।
२०७४ सालकोे निर्वाचनमा दोलखाबाट एमाले–माओवादी वाम गठबन्धनले प्रत्यक्षतर्फ अन्य दललाई ‘क्लीन स्वीप’ गरेको थियो । तर, अहिले अवस्था र गठबन्धनको स्वरुप परिवर्तन भएको छ । यो पटक एमाले एक्लै चुनावी अभियानमा छ । गत निर्वाचनमा माओवादीको साथ पाएका प्रतिनिधि सभाका एमालेका उम्मेदवार पार्वत गुरुङ ५५ हजार ४ सय ५७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रबहादुर खड्का २४ हजार ८ सय १३ मतमा चित्त बुझाउन बाध्य भएका थिए ।

एमालेले यो पटकको निर्वाचनमा बालकृष्ण शिवाकोटीलाई टिकट दिएको छ । एमालेले प्रतिनिधि सभामा उम्मेदवार बनाएका शिवाकोटी एक व्यवसायि हुन् । व्यवसायि शिवाकोटी जनतामाझ लोकप्रिय नभएपनि निर्वाचन जितेरै छाड्ने अडानका साथ लागिपरेका छन् । निर्वाचनमा जित हात पार्न र शिवाकोटीलाई विजयी बनाउनका लागि दोलखा एमाले कम्मर कसेर लागि परेको छ । जिल्लामा एक्लै निर्वाचन लड्न कस्सिएको एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गरेर शिवाकोटीलाई जिताएरै छाड्ने अडान लिए पनि चुनौती निकै देखिएको छ । शिवाकोटी २०७३ सालमा लगानी बोर्डमा पनि मनोनीत भएका थिए । करिब १ दर्जन भन्दा बढी उद्योग तथा व्यवसायमा उनको संलग्नता छ । मेगा बैंकका सञ्चालक समिति सदस्य समेत रहेका शिवाकोटी कालिञ्चोक केवलकारको पनि सञ्चालक हुन् ।

प्रदेशसभाका मुख्य प्रतिस्पर्धीहरु

यसैगरी, प्रदेश १ तर्फ गठबन्धनका उम्मेदवार कुन्दनराज काफ्ले र एमालेका नर बहादुर श्रेष्ठबीच चुनावी टक्कर हुनेछ । कांग्रेस नेता काफ्ले पछिल्लो पटक जनताले रुचाएका युवा नेता हुन् । बिद्यार्थी राजनीतिवाट उदाएका कुन्दन राजतन्त्र बिरोधी आन्दोलनमा अग्रमोर्चामा खटिएर नेतृत्व गरेका थिए । एमालेका उम्मेदवार श्रेष्ठलाई भने जनताले पटक–पटक परिक्षण गरिसकेका छन् । एमालेका जिल्ला अध्यक्ष रहेका श्रेष्ठ यसअघि २०७४ सालको स्थानीय निर्वाचनबाट मेलुङ गाउँपालिकाका अध्यक्ष बनेका थिए भने त्यो भन्दा अघि भेडपु गाविसको अध्यक्ष भएका थिए ।

प्रदेश २ तर्फ एमालेका भरत केसी र कांग्रसेका जिल्ला सभापति बर्मा लामाबीच प्रतिस्पर्धा हुनेछ । भरत केसीलाई पनि जनताले बुझ्ने मौका पाइसकेका छन् । एक पटक स्थानीय तह हाँकिसकेका केसी प्रदेशको यात्रामा लम्किएका हुन् । सवैभन्दा बढी आफ्नो गृह नगर भीमेस्वर नगरपालिकामा भएका कारण नगरकै मतले चुनाव जित्नेमा उनी विश्वस्त छन् । केसी अघिल्लो स्थानीय तहको निर्वाचनबाट भीमेश्वर नगरपालिकाका मेयरमा निर्वाचत भएका थिए ।

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता बर्मा लामा पनि २०७४ सालको स्थानीय निर्वाचनमा मेलुङ गाउँपालिकाबाट पालिका अध्यक्षको उम्मेदवार बनेका थिए भने २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि प्रदेशसभा १ बाट उम्मेदवार बनेका थिए । तर,उनी दुवै निर्वाचनमा पराजित भएका थिए । स्थानीय तहको निर्वाचनमा मेलुङ गाउँपालिकामा लामा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठ र प्रदेशसभा निर्वाचनमा माओवादी नेता विशाल खड्कासँग पराजित भएका थिए ।

तर, यो पटक लामालाई माओवादी केन्द्र र एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीको समेत साथ रहेको छ । त्यसैले यो निर्वाचनमा उनी बलियो भएको र जित पनि सुनिश्चित रहेको कांग्रेसको दावी छ ।