images
images

सिन्धुपाल्चोकका पुरुषको मृत्युपछि लोकन्थलीमा तनाव, स्थानीयद्धारा सडक अवरुद्ध

  • १ मंसिर २०८०, शुक्रबार १८:१७

भक्तपुर । सिन्धुपाल्चोकका एक पुरुषको ट्याङकरको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर भक्तपुरको बाखामा स्थानीयबासिले प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका ४ ठुलो सिरुवारी घर भई बालकोट बस्दै आएका ४१ वर्षीय हरिशरण पुरीको हिजो साँझ लोकन्थलीमा तेल बोक्ने टयांकरले ठक्कर दिँदा मृत्यु भएको थियो । मोटरसाइकलमा सवार उनको दुर्घटनामा परी मृत्यु भएको थियो । कोटेश्वरबाट भक्तपुरतर्फ आउदै गरेको ना ७ ख ४७७४ नम्बरको तेल बोक्ने टयांकरले भक्तपुरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक पुरीको मृत्यु भएको हो ।

ट्यांकर चालकको लापरबाहीले उनको मृत्यु भएपनि पीडकलाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । प्रहरीले भने ट्यांकर चालक सिन्धुपाल्चोकको बलेफि गाउँपालिका–२ का तुलबहादुर माझिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएको छ । भक्तपुरका सुचना अधिकारी भुवन भट्टले कानुनी प्रक्रिया अनुसार काम गरिरहेको बताउनुभयो । पीडित पक्ष र ट्यांकर समितिबीच वार्ता चलिरहेका बेला स्थानीयले सडक अवरुद्ध पारेका छन् ।