images
images

बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ला

  • २ पुष २०७९, शनिबार १४:३७

हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ला भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज प्रदेशसभाका लागि निर्वाचित सदस्यहरुको विवरण बुझेसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो । निर्वाचन आयोगले प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख समक्ष बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरुको विवरण सहितको प्रतिवेदन पेश गरेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट बागमती प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ६६ जना र समानुपातिकतर्फ ४४ जना गरी कुल १ सय १० सदस्यीय निर्वाचित भएका छन् भने प्रदेशसभामा सात वटा दलको प्रतिनिधित्व रहेको छ । प्रदेशसभातर्फ १ सय १० जना निर्वाचित सदस्यमध्ये ७० जना पुरुष र ४० जना महिला निर्वाचित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो प्रदेशमा ६३ दशमलव ६३ प्रतिशत पुरुष र ३६ दशलमव ३७ प्रतिशत महिला निर्वाचित भएका हुन् । यो पटकको निर्वाचनमा बागमती प्रदेशमा मात्रै प्रत्यक्षतर्फ ७६ हजार ९ सय ३८ र समानुपातिक निर्वाचनमा १ लाख २५ हजार ६ सय ३३ मत बदर भएको थियो ।

यसैबीच, बागमती प्रदेशमा ३३ वटा राजनितिक दलको धरौटी जफत भएको छ । प्रदेशमा १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने ४ सय १७ जना पुरुष उम्मेदवार र ६७ जना महिला उम्मेदवार गरी कुल ४ सय ८४ जनाको धरौटी जफत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।