images
images

यसरी परिन् सोविता विवादमा, बलात्कारका सम्बन्धमा तीन वर्ष अघि बोलेको भिडियो क्लिप भाइरल

  • २ पुष २०७९, शनिबार १५:४२

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौंको क्षेत्र नम्बर २ मा विजयी बनेकी सांसद सोविता गौतम आफ्नो पुरानो अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी छन् ।

दोलखाको तामाकोशी गाउँपालिका ३ जफे स्थायी घर भएकी २७ वर्षीया सोविताले तीन वर्षअगाडि दिएको एउटा अन्तरवार्ता अचानक सामाजिक सञ्जालमा भाइरल भएको हो । अन्तरवार्तामा सोविताले महिलामाथि हुने ‘बलात्कार’ का सम्वन्धमा फरक खालको धारणा राखेकी थिइन् । त्यसमाथि अहिले तीव्र वहस सुरु भएको छ । कतिपयले उनको भनाइलाई यथार्थपरक भनेर समर्थन गरेका छन् भने कतिले असंवेदनशील भनेर आलोचना पनि गरिरहेका छन् । सो अन्तरवार्ता दिने बेला सोविता राजनीतिमा थिइनन् । उनी नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्थिन् । महिलामाथि हुने यौन हिंसाका विषयमा सोविताले आम महिलावादीभन्दा भिन्न र अनपेक्षित जवाफ दिएकी थिइन् ।

अन्तरवार्तामा सोविताले बलात्कारलाई समाज र मिडियाले अनावश्यक ग्लोरिफाइ गरेको तर्क गरेकी छन् । बलात्कारबाट महिलाको शरीरमा कुनै हानि नोक्सानी पुगेको छैन भने त्यसलाई धेरै ठूलो रुपमा लिन नहुने उनको भनाइ थियो । अहिले सोविताको अन्तरवार्ताबाट साना अंशहरु काटेर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

बलात्कारबारे बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे उनले प्रतिक्रिया व्यक्त गरेकी छिन् । आज सामाजिक सञ्जालमार्फत गौतमले सो बेला आफूले बोलेको कुरा यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरुप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक, आरोग्य र सामाजिक पुनःस्थापना सहज हुनसक्छ भन्ने आफ्नो आशय रहेको प्रष्ट पारेकी छन् ।

सो कुरा प्रष्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भएको भन्दै सामाजिक सञ्जालमा जनाईको आपत्तिलाई आफूले मनन गरेको उनले उल्लेख गरेकी छिन् । सो बेला दिएको उदाहरण आजको अवस्थामा प्रयोग नगर्ने बताउँदै सांसद सोविताले अहिले आफू परिष्कृत भइसकेको बताएकी छिन् । उनको ३ वर्ष अघिको संवाद यतिखेर बहासको विषय बनेको छ ।