दोलखा । नेकपा एकीकृत समाजवादी (नेकपा एस) दोलखाको १० औँ जिल्ला अधिवेशनवाट भिमप्रसाद दहाल पुनः सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।
गय राति सम्पन्न अधिवेशनको बन्द शत्रले दाहालको नेतृत्वमा ९१ सदस्यीय जिल्ला संगठन कमिटी चयन गरेको हो । दाहाल यसअघि पनि नेकपा एस दोलखाको अध्यक्ष थिए । एमालेवाट विभाजन भएर नेकपा एस गठन हुँदा दाहालकै नेतृत्वमा दोलखा जिल्ला कमिटी बनेको थियो । अधिवेशनले उपाध्यक्षमा अशोक दाहाल र संगीता पाख्रिन, सचिवमा मोहन थापा तथा उपसचिवहरुमा प्रकाश कुमार केसी, बैकुण्ठ भण्डारी, तामप्रसाद आँपागाईलाई सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा निर्वाचित अशोक यसअघि सचिव थिए भने पाख्रिन उपसचिव थिईन् ।
सचिवमा सर्वसम्मत चयन भएका मोहन थापा नेकपा माओवादी केन्द्रवाट नेकपा एसमा प्रवेश गरेका नेता हुन् भने उपसचिव बैकुण्ठ भण्डारी पनि पूर्व माओवादी नेता हुन् । उपसचिवमा चयन भएका प्रकाशकुमार केसी एमाले नेता एवँ पूर्व जिल्ला विकास समितिका सभापति लालकुमार केसीका छोरा हुन् । लालकुमार एमालेमा रहे पनि छोरा प्रकाश भने नेकपा एसको राजनीतिमा सक्रिय छन् । अधिवेशनले जिल्ला कमिटी सदस्यहरु पनि सर्वसम्मतरुपमा चयन भएको निर्वाचन समितिका सदस्य नविन खतिवडाले जानकारी दिनुभयो ।
नेकपा एसको १० औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै यसअघि जिल्ला उपाध्यक्षको जिम्मेवारीमा रहेका प्रोणप्रताप केसी र घनस्याम रिजाल भने जिल्लाको जिम्मेवारीवाट बिदा भएका छन् । उनीहरु दुवै जना अध्यक्ष पदमा आकांक्षा रहे पनि सर्वसम्मत नेतृत्व चयन गर्दा दाहाललाई समर्थन गरेका हुन् । केसी पार्टीको बागमती प्रदेश सदस्य र जनप्रतिनिधिको भूमिकामा छन् भने रिजाल पार्टीको दलित मुक्ती मोर्चाको केन्द्रीय महासचिवको जिम्मेवारीमा छन् ।










