images
images

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ दलले पाए चुनाव चिन्ह

  • १ पुष २०८०, आईतवार १६:२९

काठमाडौं । राष्ट्रिय निर्वाचन आयोगले दर्ता भएका १२ वटा राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज दर्ता भएका १२ वटा राजनितिक दललाई चुनाव चिह्न प्रदान गरेको हो । दर्ता भएका दलहरुका लागि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको हो । जसअनुसार एमालेको सूर्य चिह्न पहिलो नम्बरमा परेको छ भने दोस्रोमा कांग्रेसको रुख , माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा तेस्रो र चौथोमा राप्रपाको हलो चिह्न रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यस्तै जसपाको ढल्केको छाता, जनमत पार्टीको लाउड स्पिकर, नेकपा एकीकृत समाजवादीको कलम, नागरिक उन्मुक्ति पार्टीको पिँध भएको ढकिया, लोसपाको साइकल, नेमकिपाको मादल, जममोर्चाको गिलास र नेपाल समाजवादी पार्टीको खुलेको एक आँखा चुनाव चिन्ह प्रदान गरिएकोमा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने राष्ट्रिय सभा चुनावका लागि दल दर्ता गरेको छैन ।