
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका सभामुखमा सांसद देवराज घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।
घिमिरेलाई उम्मेदवार बनाउने सहमति भएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । गुरुङसहित छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने टुंगो लागेको हो। गुरुङले आफूले अझै सक्रिय राजनीति गर्नुपर्ने भन्दै पछि हटेको बताउनुभयो।
घिमिरे झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।