
काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
सत्ता गठबन्धन दलको तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको हो भने नेपाली कांग्रेसको तर्फबाट ईश्वरी न्यौपानेले सभामुखका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङदेन रहेका छन् । घिमिरे झापा २ बाट सांसदमा निर्वाचित हुनुभएको थियो ।
यस्तै कांग्रेसकी न्योपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकिकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् । यसअघि आज बसेको कांग्रेसको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवारी बनाउने निर्णय गरेको थियो । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय दिइएको संसद सचिवालयले जनाएको छ । सभामुखको मतदान भोली बस्ने प्रतिनिधिसभा बैठकमा हुनेछ । त्यसका लागि भोली बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।