
दोलखा । दोलखाको लामावगरमा नासा हाइड्रोले निर्माण गरिरहेको लप्चि जलबिधुत आयोजनाको प्रवेश मार्ग (सडक) निर्माणको क्रममा मृत्यु भएका युवकको शव तीन दिनदेखि थन्किएर बसेको छ ।
मृतकको परिवारलाई क्षेतिपूर्ति, घाइतेको निशुल्क उपचार र दोषी उपर कारवाहीको माग गर्दै परिवारजन र स्थानीय आन्दोलित भएपछि मृतकको शव तीन दिनसम्म उठ्न नसकेको हो । निर्माणाधिन लामावगर–लप्चि सडकको हुरहुरेमा भीर फुटाउन बिष्फोट गराउने क्रममा सोमवार दिउँसो बिगु गाउँपालिका–१ ठाडिका १९ वर्षीय कामदार कुसुङ तमाङको घटनास्थलमै मृत्यु भएको थियो भने सोही स्थानका २२ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ गम्भीर घाइते भएका थिए ।
मृतकको शवलाई मंगलवार विहान हेलिकोप्टर मार्फत सदरमुकाम चरिकोट ल्याएर शव गृहमा राखिएको छ । परिवारका सदस्य नआएका कारण शव ३ दिनदेखि शव गृहमै थन्किएर बसेको छ । दुई जना घाइतेको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । सम्भावित खतराको ख्याल नगरी सुरक्षा सामाग्री विना बिष्फोटको तयारीकालागि ढुँगामा प्वाल खोप्ने (ड्रिल गर्ने) काममा लगाएको र सोही क्रममा यसअघि बिष्फोट हुन बाँकी रहेको बिष्फोटक पदार्थ बिष्फोट भएर ज्यान गएको भन्दै मृतकका परिवार, आफन्तजन र स्थानीय आन्दोलित छन् । उनीहरुले ३ दिनदेखि लामावगरस्थित नासा हाइड्रोको कार्यालय अघि बिरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले मृतकका परिवारलाई उचित क्षेतिपूर्ति र परिवारका सदस्यलाई रोजगारी, घाइतेको निशुल्क उपचार र क्षेतिपूर्ति तथा सडक निर्माणमा लापरवाही गर्ने उपर कारवाहीको माग गरेका छन् । घटनापछि स्थानीयवासी आन्दोलित भएपनि नासा हाइड्रोका उच्च अधिकारीहरु वार्तामा समेत गएका छैनन् । आयोजनाका मुख्य प्रतिनिधि मनोहर खड्का समेत वार्ताका लागि लामावगर जान अनिच्छुक भएको बताईएको छ । हिजो नासा हाइड्रोका स्थानीय प्रतिनिधि हेमराज तामाङ र बिगु गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहितका जनप्रतिनिधि समेतको उपस्थितीमा भएको छलफल पनि विना निश्कर्ष टँुगिएको छ ।