images
images

एमाले ओखलढुङ्गामा विद्रोह: उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै पार्टी कार्यालयमा तालाबन्दी

  • ४ माघ २०८२, आईतवार २०:५२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले केन्द्रिय कमिटीले गरेको उम्मेदवार चयनप्रति असन्तुष्ट जनाउँदै ओखलढुङ्गा जिल्ला कमिटी र भातृ संगठनहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।

ओखलढुंगा जिल्ला कमिटी र भातृ संगठनहरुले कडा आपत्ति जनाउँदै केन्द्रको निर्णय विधान विपरित र स्वेच्छाचारी भएको भन्दै रुष्ट बनेका नेता कार्यकर्ताहरुले एमाले जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

आज जिल्ला कमिटी र पार्टीका चारवटा प्रमुख भातृ संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले प्रेस विज्ञप्ति जारी गर्दै तत्कालै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

जिल्ला कमिटी र विभिन्न चार भातृ संगठनले प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रको निर्णय नसच्चिएसम्म आन्दोलन जारी राख्ने बताएका हुन्।

जिल्ला तहका नेता–कार्यकर्ताहरूको यो विद्रोहले आसन्न निर्वाचनमा एमालेभित्र ठूलो चुनौती सिर्जना हुने देखिएको छ। नेकपा एमालेले ओखलढुंगामा प्रतिनिधि सभाका लागि लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।