जिरी (दोलखा) । बागमती प्रदेश सरकारले दोलखाको चरिकोट प्रादेशिक अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल नामाकरण गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेशको हिजो बसेको मन्त्रीपरिषदको बैठकले दोलखा जिल्लाबाट प्रदेश सभाको सदस्यमा नेकपा एमालेवाटबाट निर्वाचित सांसद चौलागाईको स्मृतिमा अस्पतालको नामाकरण गर्ने निर्णय गरेको हो । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले मन्त्री परिषदको बैठकले चरिकोट अस्पतालको नामाकरण पशुपति चौंलागाई स्मृति अस्पताल नामाकरण गर्ने निर्णय गरेको र निर्णय तत्काल कार्यान्वयन हुने जानकारी दिनुभयो । सांसद चौलागाईको कोरोना संक्रमणका कारण गत बैशाख २८ गते उपचारका क्रममा काठमाडौको मनमोहन मेमोरियल अस्पतालमा निधन भएको थियो । स्वर्गीय सांसद एमालेवाट निर्वाचित भएपनि पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादीमा सक्रिय थिए ।
बागमती प्रदेश सरकारले यसअघि पनि चरिकोट अस्पतालको नामाकरण स्वर्गीय सांसद पशुपति चौंलागाई स्मृति अस्पताल राख्ने भनेपनि कार्यान्वयन हुन सकेको थिएन । प्रदेश सभाको बैठकमा तत्कालिन सांसद एवँ बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डे स्वयँले पशुपति चौंलागाईको नामवाट अस्पतालको नामाकरण गर्न प्रस्ताव गरेका थिए । पाण्डे मुख्यमन्त्री बनेको चार महिनापछि यसअघि आफैंले गरेको प्रस्ताव कार्यान्वयन गर्ने गरी मन्त्री परिषद बैठकवाट निर्णय गरिएको हो ।
प्रदेश सरकारले हालै मात्र नेपाली कांग्रेस दोलखाका नेता जयराम श्रेष्ठलाई चरिकोट अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।