images
images

‘क्वार्ज क्रिष्टल’लाई विशेष सुरक्षाका साथ गोरखा दरबारमा राखिने

  • ६ फाल्गुन २०८०, आईतवार ०८:२८

गोरखा । ८ महिनाअघि बरामद भएको बहुमूल्य टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ लाई ऐतिहासिक गोरखा दरबारमा राखिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा हिजो बसेको सर्वपक्षीय बैठकले ‘क्वार्ज क्रिष्टल’ लाई विशेष सुरक्षाका साथ गोरखा दरबारमा राख्ने निर्णय गरेको हो । दरबारमा राखिने ‘क्वार्ज क्रिष्टल’ को सुरक्षाको जिम्मेवारी भने जिल्ला सुरक्षा समितिले निर्धारण गर्ने प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार ‘क्वार्ज क्रिष्टल’ को राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चर्चा चलेकाले सुरक्षामा विशेष ध्यान दिईने भएको छ ।

गत असारमा गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुंगा गोरखा दरबारमा राखिने भएको हो । दरबारमा ‘क्वार्ज क्रिष्टल’ व्यवस्थापनका लागि लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन भने गोरखा नगरपालिकाले व्यहोर्ने भएको छ ।

सो ढुंगाको तौल ५२ किलो ३ सय ३० ग्राम रहेको छ । संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा विभाजन गर्ने गरिएकोमा बरामद गरिएको ढुंगा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले बताएका छन् ।