images
images

रास्वपाको पहिलो सभाः धनगढीको मञ्चमा एकसाथ रवि–बालेन, डोटेलीमा बोलेर के दिए सन्देश?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीबाट चुनावी सभा सुरु गरेको छ ।

चुनावी सभालाई रास्वपाले परिवर्तन उद्धघोष भनेको छ । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालन्द्र शाह (बालेन) पहिलो पटक एकैसाथ चुनावी सभामा पुगेका हुन् । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित सभामा रवि र बालेनले डोटेलीमा बोलेर मतदाताको ध्यानाकर्षण गरेका छन् ।

डोटेली भाषाबाट सम्बोधनको सुरुवात गर्दै दुवै जनाले सुदुर पश्चिम अब आफ्नो पार्टीले बनाउने दाबी गरेका छन् । रास्वपाको अन्य प्रदेशमा हुने उदघोष सभामा पनि नेताद्धय लामछिाने र शाहले सम्बोधन गर्नेछन् ।

बालेनको तीन मिनेट सम्बोधन, यस्तो सुनाए एजेण्डा

धनगढीको सभालाई जम्मा तीन मिनेट मात्रै सम्बोधन गरेका रास्वपाका वरिष्ठ नेता बालेनले भोट नभई काम माग्न आएको बताएका छन् । रास्वपा भोट नभई काम माग्न आएको भन्दै उनले बरु भोट नदिएपनि काम दिन आग्रह गरे। ‘राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ भोट माग्न आएको होइन काम माग्न आएको हो। काम दिनुस्।

तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ। बरू के-के काम छ लिस्ट बनाउनुस् र दिनुस्,’ उनले भने। सम्बोधनका क्रममा बालेनले एजेण्डा पनि प्रस्तुत गरेका छन् ।

‘खल्तीमा पैसा नभएका विपन्नले शिक्षा पाउनु पर्‍यो यो हो हाम्रो एजेन्डा। विपन्न गरिबले स्वास्थ्योपचार पाउनुपर्‍यो त्यो हो हाम्रो एजेन्डा । २ वर्षमा बन्नुपर्ने सडक २० वर्षसम्म बन्दैन। त्यो डेढ वर्षमा बन्नुपर्‍यो त्यो हो हाम्रो एजेन्डा। रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुपर्‍यो,’ उनले भने।

वरिष्ठ नेता बालेनले सुदर पश्चिमलाई विकासको दृष्टिले नजिक बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सिंहदरबार बनाउने मात्रै होइन बदल्ने होः रवि

लामिछानेले सिंहदरबार बनाउने मात्रै नभई बदल्ने योजना लिएर आएको बताएका छन् । उनले आफू ससाना समस्या होइन, देशकै समस्या समाधान गर्न आएको बताए । उनले भने, ‘म खुद्रा खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु । सिंहदरबार जलायो भनेर भन्दै छन्। सिंहदरबार बनाउने हो। सिंहदरबार बनाउनेभन्दा पनि बदल्ने हो।’

सम्बोधनका क्रममा रास्वपा सभापति रावि लामिछानेले कुशासन, भ्रष्टाचार र बेथितिको सटर फागुन २१ गते बन्द गराईदिने बताएका छन् । रास्वपाले जनताको अधिकारलाई माग बनाएर हरेक निर्वाचनमा घोषणापत्र लेख्ने युगलाई अन्त्य गर्ने लामिछानेको भनाई छ ।

जनताको माग पुरा गर्नका लागि आफुहरुले ५ वर्षको स्थायी सरकार माग गरेको भन्दै लामछिानेले यसअघिको निर्वाचनमा नेताले जित्दै आएकोमा यो पटक जनतालाई जिताउने बताए । २१ फागुनमा भोट हाल्ने नभई इतिहास लेख्ने दिन भएको दाबी उनको थियो । उनले चुनावमा जसले वाचा गरेको हो, वाचा पूरा नहुँदा सजाय पनि उसैले पाउनुपर्ने बताए ।

रविले जोड दिएको चार कुरा

सम्बोधनका क्रममा उनले उनले मतदातालाई विशेषगरी चार कुरा भने। पहिलो, भारतमा रहेका सुदूरपश्चिमका जनतालाई यसपालि जसरी भए पनि मतदान गर्न उपस्थित गर्न अनुरोध गरे। यसपालिको चुनाव अघिल्ला चुनावहरू भन्दा फरक रहेको दाबी गरेका उनले सुदूरपश्चिमका मतदातालाई यसपालि मत नबाँढ्न पनि भने ।

उनले रास्वपामा रवि र बालेन एक ठाउँमा उभिएको ऐतिहासिक अवसरलाई सदुपयोग गर्न पनि मतदाताहरूलाई अनुरोध गरे। लामिछानेले मतदातालाई सचेत हुन पनि भनेका छन्।