
दोलखा । सशस्त्र प्रहरीको नक्कली परिचयपत्र सहित पक्राउ परेका दोलखाको कालिञ्चोक गाउँपालिकाका एक युवक धरौटीमा रिहा भएका छन् ।
दोलखा जिल्ला अदालतले कालिञ्चोक गाउँपालिका वडा नम्बर २ का २२ वर्षिय मिलन भनिने जुनतारा तमाङलाई डेढ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला न्यायधीश कविप्रसाद न्यौपानेको बुधबारको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेश लगत्तै तमाङ धरौटी रकम बुझाएर रिहा भएका छन् ।
आफु सशस्त्र प्रहरी भएको र व्युरोबाट खटिई आएको बताउने गरेका उनलाई प्रहरीले गत फागुन १० गते भीमेश्वर नगरपालिकाबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीमाथि प्रहरीले लिखत किर्ते मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो । २० दिन लामो अनुसन्धान पुरा भएपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरेकोमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।