images
images

दोलखाका ११२ र रामेछापका ८८ जना राष्ट्रिय सहिद घोषणा

  • ४ चैत्र २०७९, शनिबार ०९:२६

दोलखा । सरकारले जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गरेका दोलखाका १ सय १२ जना सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको छ ।

सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गरेका दोलखाका १ सय १२ जना सहिदको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको हो । जिल्लामा २०५५ साल साउनदेखि २०५८ साल पुस २९ गतेसम्म सहादत प्राप्त गरेकाहरुको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा दोलखाका ९० जनालाई २०६५ सालमा र २२ जनालाई २०६७ सालमा सहिद घोषणा गरेको उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको अध्यक्षतामा गत फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरुको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयपछि गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर सहिदहरुको अभिलेख माग गरेको थियो ।

७७ जिल्लाबाट प्राप्त अभिलेखका आधारमा सरकारले सहिदहरुको नामावली राजपत्रमा प्रकाशित गरेको हो । योसँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका दोलखाका १ सय १२ जनाले राष्ट्रिय सहिदको मान्यता पाएका छन् । राष्ट्रिय सहिदका परिवारहरुले यसअघि सहिद घोषणा भई राज्यबाट परिपुरण र सम्मानस्वरुप प्राप्त गरेको सुविधा अनुरुप क्षतिपुर्ति, परिपुरण र सम्मान पाउनेछन् । सरकारले सिन्धुलीका १ सय ४५ जना सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिएको छ भने रामेछापका ८८ जना, काभ्रेपलाञ्चोकका १ सय ३५ जना र सिन्धुपाल्चोकका १ सय ८५ जना सहिदको नाम राजपत्रमा प्रकाशित भएको छ ।