images
images

जलविधुत आयोजना सामाजिक उत्तरदायित्वबाट पन्छिन पाउँदैनन्ः अध्यक्ष कार्की

  • ४ चैत्र २०७९, शनिबार १२:१९

दोलखाको गौरीशंकर गाउँपालिकाका अध्यक्ष बिस्वास कार्कीले पालिकाभित्र सञ्चालनमा रहेका जलबिद्युत आयोजनाले स्थानीयवासीले प्रतक्ष्य अनुभूति गर्ने गरी सामाजिक उत्तरदायित्व पूरा गर्नु पर्ने बताउनुभएको छ ।

गौरीशंकर गाउँपालिका जलबिद्युत आयोजनाको केन्द्र भएपनि निर्माण सम्पन्न भएका र निर्माणको चरणमा रहेका आयोजनावाट जनताले प्रतक्ष्य लाभ पाउन नसकेको भन्दै उहाँले आयोजनाका प्रवद्र्धक कम्पनी सामाजिक उत्तरदायित्ववाट पन्छिन नमिल्ने बताउनुभयो । दोलखास्थित हाम्रो रेडियोको कार्यक्रम ‘गौरीशंकर सेरोफेरो’ मा कुरा गर्दै अध्यक्ष कार्कीले स्थानीयवासीको शेयर लगानीको सुनिश्चितता र सामाजिक विकासका कामलाई जलबिद्युत आयोजनाले पारदर्शीरुपमा गर्नु पर्ने धारणा राख्नुभयो । जलबिद्युत आयोजनाको सामाजिक विकास बजेटलाई पारदर्शी बनाएर स्थानीयवासीको दिर्घकालिन हितमा खर्च गर्ने बिषयमा पालिकाले प्रर्वद्धक कम्पनीहरुसँग छलफल गरिरहेको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष कार्कीले गौरीशंकरमा प्रचुर पर्यटन विकासको सम्भावना रहेको भन्दै पर्यटन प्रवद्र्धनका लागि बेदिङमा हिमआरोहीहरुको सम्मेलन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । लामावगरको गोँगरवाट बेदिङ र ना गाउँ, च्छो रोल्पा हिमताल हुँदै टासिलाप्चा पार गरेर सगरमाथा जाने बाटोलाई पर्यटकीय रुट बनाउन संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी गाउँपालिकाले पहल गर्ने उहाँको भनाई छ ।

उच्च शिक्षा अध्ययकालागि अनुदान, सवै माविलाई आवासीय बनाईने

बिद्यार्थी राजनीति गर्दागर्दै गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका कार्कीले पालिकाभित्रका सवै माविलाई आवासीय बनाउने गरी काम सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार गौरीशंकरको जुँगुस्थित निलकण्ठेस्वर माविलाई प्रदेश सरकारको सहयोगमा आवासीय मावि बनाइएको छ भने हिमवर्ती मावि मार्वुलाई आवासीय बनाउन भौतिक पूर्वाधार निर्माणको काम भईरहेको छ । पालिकाका सवै माविलाई आवासीय बनाईने अध्यक्ष कार्कीले बताउनुभयो ।

गौरीशंकर गाउँपालिकाले सडकको पहुँच नभएको र भौगोलिकरुपमा विकट क्षेत्रमा रहेका बिद्यालयका बिद्यार्थीलाई दिवा खाजाका लागि प्रति बिद्यार्थी १० रुपैयाँ अनुदान दिने व्यवस्था मिलाएको छ । पालिकामा शैक्षिक कोष खडा गरेर गरिव, जेहेन्दार र उत्कृष्ट बिद्यार्थीलाई डाक्टर, इन्जिनियर तथा कृषि र पशु प्राविधिक बिषयमा उच्च शिक्षा अध्ययन गर्न कार्यविधि बनाएर अनुदान दिने व्यवथा गरेको अध्यक्ष कार्कीले बताउनुभयो । गौरीशंकर गाउँपालिकाले पालिकाको स्थायी केन्द्र टाढा पर्ने सेवाग्राहीका लागि सुरीको भोर्लेमा हप्तामा दुई दिन सेवा दिनेगरी सेवा केन्द्र पनि सुरु गरेको छ । सो सेवा केन्द्रवाट अहिलेम्म एक हजार भन्दा बढी सेवाग्राहीले सेवा लिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

कृषि उत्पादन र पशुपन्क्षि पालन मार्फत स्वरोजगार सिर्जना गर्न युवाहरुलाई दुध उत्पादनमा प्रति लिटर ३ देखि ४ रुपैयासम्म अनुदान दिने तथा सुत्केरी महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति र अति बिपन्न परिवारलाई निशुल्क एम्वुलेन्स सेवा आफु नेतृत्वको स्थानीय सरकारका जनमुखी कार्यक्रम रहेको उहाँले बताउनुभयो ।