भक्तपुर । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ४५ लाख बढी ठगी गरेको अभियोगमा दोलखाका एक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले लक्जम्बर्ग, युके र अजरबैजान पठाउने भन्दै ४५ लाख ७६ हजार ठगी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने २४ वर्षीय आङ मिङमार शेर्पा, काभ्रेपलाञ्चोक घर भई गोकर्णेश्वर नगरपालिका ५ बस्ने ४२ वर्षीया सुनिता सिङतान (लामा) र सिन्धुली घर भई काठमाडौँ महानगरपालिका ४ बस्ने ३३ वर्षीया बाल कुमारी माझी रहेका छन् ।
पक्राउ परेका मध्ये आङ मिङमारले लक्जम्बर्ग पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रुपैयाँ, सुनिताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७६ हजार र बाल कुमारीले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरुबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहिन भएका थिए ।
पीडितहरुको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौ महानगरपालिकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरुलाई अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।










