जिरी (दोलखा) । दोलखाको वैतेस्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।
बुथ कव्जाको आरोप लागेको वैतेस्वर गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका छवि लामा र उपाध्यक्षमा सोही पार्टीका कल्पना उप्रेती बिजयी भएका हुन् । आज विहान सम्पन्न मतगणना अनुसार लामा ५२९९ मतका साथ र उप्रेती ५२७३ मतका साथ बिजयी भएकी हुन् । कांग्रेसका छवि लामाले एमालेका अध्यक्षका उम्मेदवार माधव प्रसाद घिमिरेलाई २१२७ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी नेकपा माओवादी केन्द्रका लक्ष्मण खड्काले २८६३ मत ल्याएका छन् । वैतेस्वरका ६ वटा वडाको मतगणना हुँदा सम्म झिनो मतान्तरका साथ दोश्रो स्थानमा रहेका खड्कालाई वैतेस्वर १ र २ वाट न्यूनमत आएको छ । कांग्रेसले बुथकव्जा गरेको भनिएको वडा नम्बर १ गैरीमुदीवाट कांग्रेसलाई एकलौटी १९८७ र एमालेलाई ३ तथा माओवादीलाई २ मत मात्रै आएको छ ।
उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी कल्पना उप्रेतीले ५२७३ मत पाएकी छिन् । उनका निटकतम प्रतिद्धन्द्धि नेकपा एकिकृत समाजवादीका कल्याण दाहालले २७१८ मत पाएका छन् । उप्रेती र दाहालवीचको मतान्तर २५५५ रहेको छ । नेपाली कांग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार छविलाल मोक्तानले २०६७ मत पाएका छन् । वैतेस्वर गाउँपालिकामा १, २, ३ र ६ गरी ४ वडाको वडा अध्यक्षमा कांग्रेस बिजयी भएको छ भने नेकपा माओवादी केन्द्र र नेकपा एमाले २/२ वडामा बिजयी भएको छ । माओवादी केन्द्रले वडा नम्बर ५ र ७ तथा एमालेले वडा नम्बर ४ र ८ मा बिजयी हात पारेको हो ।