images
images

बुथ कव्जा गरिएको वैतेस्वर–१ मा माओवादी र एमालेलाई जम्मा ५ भोट

  • ४ जेष्ठ २०७९, बुधबार ०६:४६

दोलखा । नेपाली कांग्रेसले बुथकव्जा गरेको दोलखाको वैतेस्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जम्मा ५ मत आएको छ ।

आज विहान सम्पन्न मतगणनामा एमालेलाई ३ र नेकपा माओवादी केन्द्रलाई जम्मा २ मतमात्रै देखिएको हो । एमाले र माओवादीलाई जम्मा ५ मतहुँदा नेपाली कांग्रेसलाई १९८७ मत देखिएको छ । यसैगरी उपाध्यक्षमा एमालेले समर्थन गरेका पुतली चिन्हका स्वतन्त्र उम्मेदवारलाई ६ मत देखिदा कांग्रेसकी उपाध्यक्षलाई १९७७ मत खसेको छ । वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार भिम तामाङले १९१९ मत आउँदा एमालेका वडा अध्यक्षका लागि ६ र माओवादी केन्द्रका उम्मेदवारलाई ७ र राप्रपाका उम्मेदवारलाई ६१ मत आएको छ ।

वैतेस्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदीमा नेपाली कांग्रेसले एकलौटी बुथकव्जा गरेको आरोप छ । मतदान अधिकृतलाई त्रासमा पारेर सवै मतपत्रमा हस्ताक्षर गर्न लगाई एकलौटी मतखसालेको एमालेको आरोप छ । एमालेवाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार माधवप्रसाद घिमिरेले मतगणना अघि नैं वडा नम्बर १ मा बुथकव्जा गरिएको भन्दै पुनःमतदानको माग गरेर निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । बैतेश्वर १ मा कुल २ हजार १४ जना मतदाता रहेका थिए । त्यसमध्ये २ हजार ७ मत खसेको थियो । खसेको मतमध्ये १४ वटा बदर भएको थियो ।