images
images

दोलखाका ५ वटा पालिकामा मतगणना जारी, दुई स्थानको गणना अन्तिम चरणमा

  • ४ जेष्ठ २०७९, बुधबार ०९:००

दोलखा । दोलखाका ९ वटा स्थानीय तहमध्ये अब ५ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।
चार वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको हो । जसमा नेकपा एमालेले जिरी नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ भने तामाकोशीमा नेकपा एकिकृत समाजवादीका उम्मेदवारले प्रमुख र नेपाली कांग्रेसका उम्मेदवारले उपप्रमुख जितेका छन् । कांग्रेसले वैतेश्वर गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेको हो । मतगणना भइरहेका सवै पालिकामा गटबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । भीमेश्वर, गौरीशंकर, कालिञ्चोक, विगु र शैलुङमा गठबन्धनका उम्मेदवारको अग्रता छ । गौरीशंकर र कालिञ्चोकको मतगणाना अन्तिम चरणमा पुगेको छ ।

शैलुङ गाउँपालिका

शैलुङ गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार रिमालबावु श्रेष्ठले ३ हजार २ सय ९१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका धनबहादुर तमाङले ३ हजार २ सय ६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षतर्फ नेकपा एमालेकी उम्मेदवार पार्वती कार्की अग्रस्थानमा आएकी छिन् । उनले ३ हजार ३ सय ४ मत पाएकी छिन् भने नेपाली कांग्रेसका उम्मेदवार दावा दोर्जे लामाले ३ हजार १३ मत पाएका छन् ।

कालिञ्चोक गाउँपालिका

कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद शिवाकोटीले ५ हजार १ सय ३३ मत प्राप्त गर्दै अग्रस्थान कायम राखेका छन् भने नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गणेश शिवाकोटीले ४ हजार १ सय ४६ पाएका छन् । । यसैगरी उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकीले ५ हजार १ सय ४५ मत पाएका छन् भने एमालेकी उम्मेदवार कविता थामीले ४ हजार १ सय ४६ मत पाएकी छिन् ।

विगु गाउँपालिका

विगु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सञ्जिव ओलीले २ हजार १ सय प्राप्त गरेका छन् भने एमालेका अचुमत केसीले १ हजार ७ सय ८३ मत प्राप्त गरेका छन् । उपाध्यक्षतर्फ आङनिमा शेर्पाले १५ सय ११ मत प्राप्त गर्दा एमालेकी देविका थामीले १ हजार ५ सय ११ मत प्राप्त गरेकी छिन् ।

गौरीशंकर गाउँपालिका

गौरीशंकर गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका विश्वास कार्कीले अग्रता बढाएका छन् । एमालेका उम्मेदवार जंग बहादुर गुरुङलाई पछि पार्दै कार्कीले आफ्नो अग्रता बढाउँदै लगेका हुन् । हालसम्म प्राप्त नतिजा अनुसार कार्कीले ३९ सय १५ मत प्राप्त गरेका छन् भने गुरुङले ३ हजार ८२ मत प्राप्त गरेका छन् ।

भीमेश्वर नगरपालिका

भीमेश्वर नगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका नेपाली कांग्रेसका ईश्वरनारायण मानन्धरले ३६ सय ५१ मत प्राप्त गरेका छन् । नगरप्रमुखका उम्मेदवार हरिवंश चौंलागाईले २७ सय २३ मत प्राप्त गरेका हुन् । नगर उपप्रमुखतर्फ नेकपा एकिकृत समाजवादीकी संगीता तमाङले २८ सय ९४ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार कमला बस्नेतले २६ सय ९४ मत पाएकी छिन् । उनीहरुबीच सुरुवात देखि नै कडा टक्कर परिरहेको छ ।