images
images

बागमती प्रदेशमा मन्त्रालय जिम्मेवारीलाई लिएर लफडा, शीर्ष नेताहरुले प्रधानमन्त्रीसँग छलफल गर्दै

  • ४ जेष्ठ २०८०, बिहीबार १७:१८

हेटौंडा । बागमती प्रदेशमा मन्त्रालय जिम्मेवारीलाई लिएर सहमति नजुटेपछि मन्त्रिपरिषद विस्तारमा सकस भएको छ ।

बागमती प्रदेशमा मन्त्रालय संख्यामा भागवन्डा मिलेपनि कुन मन्त्रालय कस्लाई भन्ने विषयमा सहमती नजुटेपछि समस्या भएको हो । यो सँगै बागमतीको मन्त्रालयमा कांग्रेस र एकीकृत समाजवादीको हानथाप मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागमतीका शीर्ष नेताहरूलाई बालुवाटार बोलाउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा आज साँझ बालुवाटारमा बैठक राखिएको स्रोतले जानकारी दिएको छ । प्रचण्डले मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलसहित शीर्ष नेताहरूलाई बालुवाटार बोलाउनुभएको हो । हिजो सरकारलाई पूर्णता दिन बस्ने भनिएको सत्ता पक्षको बैठक समेत बस्न सकेको छैन । एकीकृत समाजवादी मन्त्रालय विस्तारमा सहभागी हुन प्रदेशको राजधानी हेटौंडा उपस्थित भएपनि कांग्रेसको अनुपस्थितीका कारण सरकारलाई पूर्णता दिन नसकिएको जनाइएको छ ।

मन्त्रिपरिषद विस्तार हुन ढिलाई भएको बेला हिजो मात्रै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई थप ३ मन्त्रालयको जिम्मेवारी दिइएको थियो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।