images
images

पत्रकार महासँघ दोलखाले भन्यो– ‘प्रेस जगतलाई लगाएको गम्भीर आरोप फिर्ता लेऊ’

  • ४ असार २०८१, मंगलवार ०९:२५

दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखाले विगु गाउँपालिकाले पत्रकार र पत्रकारिता क्षेत्रमाथि विभिन्न आरोप लगाएको भन्दै त्यसको विरोध गरेको छ ।

पत्रकार महासंघ दोलखा शाखाले हिजो विज्ञप्ती जारी गरि समाचार लेखेकै आधारमा सरकारी लेटरप्याडमा विज्ञप्ती जारी गरि पत्रकारलाई प्रभाव र दबाबमा राखेर गाउँपालिकाले व्ल्याकमेलिङ गर्न खाजेको बताएको हो । महासँघका अध्यक्ष दिपशंकर चौँलागाईद्धारा जारी विज्ञप्तीमा समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्ने व्यवस्था रहँदा रहँदै विज्ञापन नपाएकै कारण पत्रकारले समाचार लेखेको भनेर आरोपित गर्नु गलत र पूर्वाग्रहपूर्ण भएको उल्लेख छ । दोलखाका सञ्चारमाध्यमले स्थानीय तहमा देखिएको कैफियत र मोनोपोलीबारे खोज सामाग्री प्रकाशन र प्रशारण गर्नु सञ्चार जगतको दायित्व भएको महासँघले जनाएको छ । पत्रकार महासँघ दोलखा शाखाले पत्राकारका नाममा विज्ञापन वा अन्य आर्थिक लाभका लागि कसैले धम्की दिएको वा गरेको भए तथ्य प्रमाणसहित सार्वजानिक गर्न आग्रह गरेको छ । संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न विगु गाउँपालिकालाई ध्यानाकर्षण गर्दै लाञ्छना सहितको विज्ञप्ती फिर्ता लिन पत्रकार महासँघले भनेको छ ।

गत आर्थिक वर्ष दोलखाको विगु सहित ९ वटै स्थानीय सरकारले खाना र विविध शीर्षकमा गरेको खर्चबारे दोलखाका सञ्चारमाध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेका थिए । महालेखा परीक्षक कार्यालयको लेखापरिक्षण प्रतिवेदनलाई आधार बनाएर समाचार सार्वजानिक भएपछि विगु गाउँपालिकाले विज्ञप्ती जारी गरेर पत्रकारहरुलाई गम्भीर आरोप र लाञ्छना लगाएको थियो ।

गाउँपालिकाको आरोपको दोलखाका पत्रकारहरुले सामाजिक सञ्जालमार्फत कडा प्रतिवाद समेत गरेका छन् ।