
गोकुलगंगा (रामेछाप) । रामेछापको गोकुलगंगा गाउँपालिकामा सञ्चालन भएको निशुल्क वृहत स्वास्थ्य शिविरबाट ८ सय भन्दा बढी नागरिकले स्वास्थ्य उपचार सेवा पाएका छन् ।
हिजो र आज गरी दुई दिन सञ्चालन भएको शिविरबाट ६ वटै वडाका ८४६ जनाले विभिन्न रोगको निशुल्क उपचार सेवा पाएका हुन् । उनीहरुलाई ११ भन्दा बढी सेवा निशुल्क प्रदान गरिएको पालिका अध्यक्ष काजी बहादुर खड्का(दिनेश)ले जानकारी दिनुभयो । ८ प्रकारका रोगको निशुल्क उपचार सेवा लिन सक्ने भएपछि स्थानीय नागरिकहरुको उत्साहजनक सहभागीता थियो । जसमा जनरल मेडिकल सेवा २९८, स्त्री रोग सेवा ११०, बालरोग सेवा ७१, शल्यक्रिया सर्जरी ६९, हाडजोर्नी तथा नसा रोग १३६, नाक, कान, घाँटी सेवा ५४, आँखा रोग १९४ र १२० जनाले दन्त रोग सेवा लिएको पालिकाका स्वास्थ्य संयोजक जागिर रायले बताउनुभयो । शिविरमा ६ वटै वडाका ४९८ महिला र ३४८ जना पुरुष स्वास्थ्य उपचार सेवा लिन पुगेका थिए ।
केएमसी अस्पताल काठमाडौंको समन्वय र गोकुलगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा केएमसीका सम्बन्धीत रोग विशेषज्ञको २२ जनाको टोली आएको थियो । शिविर वडा नम्बर ३, ४, ५ र ६ लाई लक्षितगरी गोकुलगंगा अस्पताल रस्नालु र आज वडा नम्बर १ र २ को लागि चुचुरेमा सञ्चालन भएको थियो ।
साथै आज उपचार सेवा लिएकाहरुले असार २० गते केएमसी अस्पतालमा गएर शल्यक्रिया गराएमा ५० प्रतिशत छुट हुने व्यवस्था समेत मिलाएको पालिकाले जनाएको छ ।